रूपन्देही प्रहरीले एकै दिन २२ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
राजश्व छलेर भारतबाट ल्याइएको उक्त बराबरको सामान बिहीबार मध्यराति र शुक्रबार बिहान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान तिलोत्तमा नगरपालिका-१२ शिवपुरबाट ३१ बोरा चिनी बरामद भएको छ। त्यसको मूल्य १० लाख २४ हजार रहेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
केसीका अनुसार चिनीसँगै देवदह नगरपालिका-४ का २१ को अनिल नेपाली पक्राउ परेका छन्। उनले चलाएको लु१च ५०१० नम्बरको पिकअपबाट चिनी बरामद भएको बताए।
यस्तै, प्रहरीले भारतबाट ल्याइएको १२ लाख २३ हजार रुपैयाँ बराबरको कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार मध्यराति सिद्धार्थनगर नगरपालिका-१२ डाँडागाउँबाट कुखुरा बरामद गरेको हो।
कुखुरासँगै बर्दघाट नगरपालिका-६ का ३२ वर्षीय रविन्द्र नेपाल पक्राउ परेका छन्।
उनले चलाएको लु३च ४५२८ नम्बरको पिकअपबाट १२ लाख २३ हजार रुपैयाँ बराबरको कुखुरा बरामद भएको केसीले बताए।
बरामद सामान भन्सार कार्यालय र बरामद भएको कुखुरा पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक केसीले बताए।
रूपन्देहीमा भन्सार छलेर सबैभन्दा बढी भारतीय कुखुरा ल्याइने गरिएको छ। पशु तथा पन्छीजन्य वस्तु भारतबाट ल्याउन प्रतिबन्ध छ।
यस्तै, भारतबाट भन्सार छलेर ल्याउने वस्तुमा चिनी रहेको केसीले बताए। केसीले तस्करी नियन्त्रणमा प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको बताए।