नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेयता संक्रमितहरूको मृत्यु भए पनि सरकारले अहिलेसम्म ओमिक्रोनका कारण मृत्यु भएको भनेर सार्वजनिक गरेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पुसको दोस्रो सातादेखि नेपालमा ओमिक्रोन संक्रमण बढ्न थालेको देखिएको छ। र यस अवधिमा झन्डै ३० जना संक्रमितको मृत्यु भएको छ। ती संक्रमितहरूको मृत्युको कारण ओमिक्रोन हो वा पुरानै डेल्टा भेरियन्ट भन्ने पुष्टि भएको छैन।
यसबारे सोधिएको प्रश्नमा स्वास्थ्य मन्त्रालयले आलटाल जवाफ दिएको छ। 'अहिलेको मृत्युलाई हामीले छुट्याएर हेरेका छैनौं। संक्रमण अहिले प्राय: ओमिक्रोनकै छ,' मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, 'पछिल्लो संक्रमणका कारण पनि मान्छेको ज्यान गएको छ। र पछिल्लो संक्रमणहरू प्राय: नयाँ भेरियन्ट नै हो।'
कुनै पनि संक्रमितको मृत्युको कारण कुन भाइरस हो भनेर यकिन गर्न जिनोम सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। जुन कुरामा मन्त्रालयले उदासिनता देखाएको छ। मन्त्रालयले सिक्वेन्सिङको काम इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। तर महाशाखाले संक्रमितको मृत्युको कारण यकिन गर्न ठोस रूपमा सिक्वेन्सिङको काम अगाडि बढाएको छैन।
'हिजो-अस्ति मृत्यु भएकाहरूमा ओमिक्रोन थियो कि डेल्टा भनेर छुट्याउन सक्दैनौं। त्यसको स्पष्ट जवाफ मसँग छैन,' महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले भने, 'पछिल्लो समय सिक्वेन्सिङ भएको छैन। फेरि सिक्वेन्सिङ गर्दा मृतकको नमूना पनि लिन्छौं।'
मन्त्रालयले हालसम्म गरिएका सिक्वेन्सिङमार्फत् २७ जना ओमिक्रोन संक्रमित भटिएको आधिकारिक जानकारी दिएको छ। यद्यपि अहिले जसरी संक्रमण व्यापक फैलिरहेको छ, त्यो ओमिक्रोनकै कारण रहेको भन्नेमा मन्त्रालय सहमत छ। त्यसले गर्दा पनि मन्त्रालयले अब ओमिक्रोन हो वा होइन भनेर यकिन गर्नेतिर चासो दिएको छैन।
सिक्वेन्सिङको काम खर्चिलो र केही समय लाग्ने भएकाले सबै पोजेटिभ वा मृतकको सिक्वेन्सिङ गर्नुपर्ने आवश्यकता हुन्न। विकसित देशहरूले पनि सबै नतिजाहरूको सिक्वेन्सिङ गरेका छैनन्। भारतकै हकमा पनि थोरै मृत्युहरू मात्र ओमिक्रोनका कारण भएको भन्ने तथ्यांक बाहिर आएका छन्।
नेपालमा भने एकजना मृतकको पनि भेरियन्ट यकिन गर्न सिक्वेन्सिङको काम अगाडि बढेको छैन। अहिले संक्रमितहरूको ज्यान कुन भेरियन्टका कारणले गएको भन्ने यकिन गर्नसके त्यसले भाइरसविरूद्ध लड्न राणनीतिक सहयोग पुर्याउँछ। अहिले फैलिएको ओमिक्रोन भेरियन्ट कम घातक भनिरहँदा मृतकको संख्या बढे सोहीअनुसार सरकारले आगामी रणनीति तय गर्नुपर्ने हुन्छ।