आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगर्ने वायुसेवा सञ्चालक संघले निर्णय गरेको छ। यसअघि मन्त्रिपरिषद् बैठकले हवाई यात्रुलाई अनिवार्य एन्टिजेन परीक्षण गराएर मात्र यात्रा गराउन भनेको थियो।
मन्त्रिपरिषदको निर्णय छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको वायुसेवा सञ्चालक संघको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्न आफ्ना सदस्यहरूलाई सर्कुलर गरेको हो।
नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्नेछ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन। यात्रा अवधिभर माक्स खोल्न पाइने छैन। यात्रुसँग खोप कार्ड हुनुपर्नेछ। कार्ड बोक्न नसक्दा मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ।
यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनुपर्नेछ। यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ।
यस्तै हवाई सेवा कम्पनीहरूले हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडान पछि हजावई जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने लगायत निर्णय गरेको छ।