काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं-२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।
कुँवरका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएका थिए।
त्यो कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको थियो।
कुँवरका अनुसार त्यस्तो मह काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री हुन्थ्यो।
श्रेष्ठले मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको खुलेको छ।
स्पर्श हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा गुणस्तर अनुरुप नरहेको र खान योग्य नरहेको खुलेको कुँवरले बताए।
श्रेष्ठको पसलबाट ६०० किलो तयारी मह, ६ हजार ५ सय किलो कच्चा र गुणस्तरहीन मह, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो, जोख्ने मेसिन, सिल मेसिनलगायत बरामद भएको छ।
श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर बुझाइएको छ।