बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा भिमेश्वर नगरपालिका-३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ मा बस्ने ४३ वर्षीय जितेन्द्रबहादुर रिजाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार काठमाडौंको सुन्ताखानबाट पक्राउ गरेको हो।
रिजालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काटेर दिएका थिए। उनले एनआइसी एसिया बैंक खाताबाट २०७५ भदौ १५ र कात्तिक २८ गते चेक काटेर पीडितलाई दिएका थिए।
तर उनले काटेर दिएको चेक बाउन्स भएपछि पीडितले अदालतमा मुद्दा हालेका थिए।
उच्च अदालत पाटनले २०७६ पुस ७ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम रिजाललाई दुई दिन कैद र १२ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
एसपी थापाका अनुसार ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले रिजाललाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो।