चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी/एमएसको प्रवेश परीक्षाबाट नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार काठमाडौंका परीक्षा हलबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
प्रहरीले नक्कली परीक्षार्थी, बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
भारतको उत्तर प्रदेशस्थित गोण्डाका ३० वर्षीय जितेन्द्रकुमार मिश्रालाई प्रहरीले काठमाडौं महानगरपालिका-८ कलंकीस्थित एलआरआईबाट पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्दै उनलाई ब्युरोले पक्राउ गरेको हो।
यस्तै प्रहरीले सोही हलबाट बिहारका ३४ वर्षीय शशिभूषण सिंहलाई पक्राउ गरेको छ। उनले बिचौलिया भएर नक्कली परीक्षार्थीलाई सहयोग गरेको खुलेपछि पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए।
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिहार घर भएका ३२ वर्षीय कृष्ण मुरारीलाई पक्राउ गरेको हो। उनले परीक्षामा अमर्यादित काम गरेको आरोप छ।
उनीमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।