ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ।
आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो।
यसै क्रममा महानगरले शनिवार कात्तिक नाचको अक्षय कोषका लागि ५० लाख हस्तान्तरण गर्यो। महानगरले आर्थिक वर्ष २०७८/७९को बजेटबाट उक्त रकम हस्तान्तरण गरेको हो। अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो। कात्तिक नाचको अक्षयकोष अब एक करोडको भएको छ।
महानगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका जात्रा, नाचहरुको अस्तित्व संकटमा परेकाले अक्षयकोषका लागि सहयोग गरेको बताए। ‘अघिल्लो वर्ष मैलै कात्तिक नाचलाई एक करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुशी छु,’ उनले भने।
कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले ललितपुर महानगर प्रमुखले प्रतिबद्धता अनुसार अक्षयकोषका लागि रकम हस्तान्तरण गरेकाले धन्यवाद दिए। ‘अब आर्थिक अभावमा नाच रोकिदैंन, अब यसलाई बढाएर बढाएर १० करोड बनाउँछौं,’ उनले भने।
ललितपुर महानगर वडा नं १६ का वडाध्यक्ष निर्मल रत्न शाक्यले सम्पदा संरक्षणमा महानगरले उदाहरणीय काम गरेको बताए। वडा बजेटबाट पनि कात्तिक नाचको अक्षयकोषका लागि १० लाख हस्तान्तरण गरिसकेको जानकारी दिए।
हरिसिद्धि भवानीदेवी नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण भइसकेको छ भने आर्थिक वर्ष २०७८/२०७९ मा पनि २५ लाख प्रदान गर्ने महानगरले जनाएको छ। खोकनामा देखाइने रूद्रायणी नाचका लागि महानगरले २५ लाख हस्तान्तरण गरिसकेको छ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९मा २५ लाख प्रदान गर्ने कार्यक्रम रहेको छ। यसैक्रममा महानगरले दसैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ। २४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन सुरु गरिएको छ। महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुश्किल नहुने बताए।