प्रहरीले काठमाडौंको सिनामंगलमा एक पुरूषमाथि कैँची प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले मोरङ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएका ३३ वर्षीय विनोद आचार्यलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
आइतबार दिउँसो साढे १२ बजे उनले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा बस्ने २२ वर्षीय केशव तिमल्सिनामाथि कैँची प्रहर गरेको आरोप छ।
उनले कैँची पेटमा प्रहार गरेको एसपी मैनालीले बताए। घाइते अवस्थामा फेला परेका तिमल्सिनालाई उपचारको लागि काठमाडौं मेडिकल कलेज लगिएको थियो। त्यहाँबाट उनको थप उपचारको लागि वीर अस्पताल लगिएको थियो।
अहिले घाइते तिमल्सिना बोल्न सक्ने अवस्थामा रहेको एसपी मैनालीले बताए।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।