पर्सा जगरनाथपुर गाउँपालिका-६ का १२ वर्षीय बालक मन्टुप्रसाद कुर्मीको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले सोही वडाका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३९ वर्षीय मनमोहनप्रसाद यादव र २५ वर्षीय रोहनप्रसाद यादवलाई पक्राउ गरेको हो।
कुर्मीको गत पुस २३ गते सोही वडाको उखुबारीमा शव फेला परेको थियो। बालकको अपहरणपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनीहरूलाई छिपहरमाई गाउँपालिका-६ भीष्वास्थित नेपाल-भारत सीमाबाट पक्राउ गरिएको हो।
दुई दिनअघि पक्राउ परेका पाँचै जनालाई बुधबार जिल्ला अदालतमा पेश गरी अपहरण तथा कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।
शव भेटिएको तीन दिनअघि बालकको अपहरण भएको थियो। खनालका अनुसार फौजदारी मुद्दाको दुश्मनीका कारण बालकलाई उनीहरूले अपहरण गरेका थिए।
त्यो फौजदारी मुद्दाको अदालतमा बकपत्र चलिरहेको थियो। मुद्दामा बयान फेर्न बालकको परिवारलाई उनीहरूले दबाब दिँदै आएका थिए।
‘त्यो मुद्दामा पक्राउ परेकाहरूका दुई जना आफन्त पुर्पक्षका लागि जेलमा थिए,’ खनालले भने, ‘बकपत्र चलिरहेका बेला बालकको परिवारलाई उनीहरूले बयान फेर्न दबाब दिँदै आएका थिए।’
तर, परिवारले बयान फेर्न नमानेपछि बालकलाई उनीहरूले अपहरण गरे। अपहरण गरी तीन दिनसम्म बालक बन्धक बनाएर राखे।
‘यो बीचमा उनीहरूले बालकलाई बन्धक राखेर परिवारलाई बयान फेर्न दबाब दिँदै आएको अनुसन्धानमा देखिन्छ,’ खनालले भने, ‘तर, परिवारले इन्कार गरिरह्यो।’
बालकलाई अपहरण गरेर दबाब दिँदा पनि नटेरेपछि बालकको हत्या गरेको खनालले बताए।
‘बालकले सबैलाई चिन्ने भएकाले पोल खुल्ने डरले हत्या गरेको देखिएको छ,’ खनालले भने।
तर, बालक अपहरणमा परेको र पीडक पक्षले दबाब दिँदै आएको रिपोर्ट प्रहरीमा पुगेन। ‘आफन्तले खबर नगरेकाले प्रहरीले यी सब कुरा हत्यापछि मात्रै थाहा पायो,’ खनालले भने।