जुम्लाका किसान यस याममा स्याउ बगैंचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ।
तातोपानी गाउँपालिका-४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा आफूहरू जुटेको जानकारी दिइन्।
बगैंचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका-१ का कार्यबाहक वडाध्यक्ष नर रावतले बताए।
बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भएको छ।
जिल्लाका आठ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाले जनाएका छन्।
पछिल्लो सयमयमा कर्णाली प्रदेश सरकारले स्याउ किसानलाई विशेष अनुदानसमेत दिने गरेको छ।
धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोखरेलले बताइन्।
स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिइन्।
बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्।
खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरूवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालयका प्रमुख गषेशबहादुर अधिकारीले बताए।
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुने उनले जानकारी दिए।
कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैंचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैंचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महतले बताए। सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरूवा रोपिसक्नुपर्ने जनाएको छ।
स्याउका बिरूवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कार्यालयका प्राविधिक सहायक सुकिराम नेपाली बताए।
छ हजार मेट्रिक टन स्याउ उत्पादन
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यसवर्ष जिल्लामा छ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ।
स्याउ उत्पादनको तथ्यांक गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ।
जिल्लाको कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ। यसको चार हेक्टर जमिनमा गरिएको स्याउखेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो। गत आव. २०७७/७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको कार्यालयले तथ्यांकले देखाएको छ।
यस वर्ष जिल्लाबाट एक हजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ। रासस