नेपालको बाह्रौं तथा बि.सं. २०७२ मा जारी भएको नेपालको संविधान पछिको पहिलो राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। २०७८ भदौ ३० सुरू भएको जनगणना मंसिर ९ गते सम्पन्न भएको थियो।
अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) रहेका छन् ।
दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५५ र ५१.५५ रहेको थियो। हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरूषको सङ्ख्या) ९५.९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ। गत जनगणनामा प्रति सय महिलामा पुरुषको सङ्ख्या ९४.१६ रहेको थियो ।
कूल जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो। यसरी हेर्दा दश वर्षमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिएको छ।
विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको र जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको विभागले जनाइको छ। यो देशको वृद्धिदर पछिल्लो आठ दशककै न्यून वृद्धिदर हो।
परिवार थपिए, आकार घट्दै
प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ घरमा बसेका देखिएको छ।
यस बमोजिम १० घरमा औषतमा १२ परिवार बसोबास गरेको देखिन्छ। हालको परिवार सङ्ख्या दश वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले बढी हो। यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो।
सहरी क्षेत्रका परिवारमा सालाखाला ४.२५ जना छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ। जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो।
भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ।
प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम ३.६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ५.६६ जना रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो।
जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा ३.४१ जना देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना देखिएको छ।
तराईमा जनसङ्ख्या बढ्यो, हिमाल-पहाडमा घट्यो
भौगोलिक क्षेत्रअनुसार कूल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ। विसं २०६८ को जनगणनामा तराईमा कूल जनसङ्ख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। हिमाली क्षेत्रमा कूल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९५ रहेको देखिन्छ। त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकामा हाल ४०.२५ प्रतिशतमा झरेको छ।
दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १५ विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३५ र ४५ विन्दुले बढेको देखिन्छ। यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ।
प्रदेशअनुसारको जनसङ्ख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।
प्रदेशगत रुपमा वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसङ्ख्या वृद्धि देखिन्छ।
दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.० प्रतिशतभन्दा कम नै रहेको देखिन्छ ।
सबैभन्दा धेरै जनसंख्या काठमाडौं र कम मनाङमा
देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ। मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन्।
कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन्। जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ।
जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।
यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाममा –१.६५ प्रतिशत रहेको छ।
हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी १.८०प्रतिशत वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ। ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ।
सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा सहरी जनसङ्ख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसङ्ख्या ३६.८१ प्रतिशत रहेको थियो ।
राष्ट्रिय जनगणना २०६८ मा ५८ नगरपालिका रहेको अवस्थामा कूल जनसङ्ख्याको १७.०७ प्रतिशत शहरी जनसङ्ख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसङ्ख्या रहेको थियो।
स्थानीय तहअनुसारको जनसङ्ख्या वितरण राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका पर्दछन्।
सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसङ्ख्या रहेको छ । बीस हजारभन्दा कम जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या ३९ रहेको छ ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसङ्ख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसङ्ख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ रहेको छ। दश हजारभन्दा कम जनसङ्ख्या हुने गाउँपालिकाको सङ्ख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसङ्ख्या हुने गाउँपालिकाको सङ्ख्या १५ रहेको छ।
जनघनत्व राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि पुगेको छ, जुन २०६८ सालमा १८० जना मात्र थियो। भौगोलिक क्षेत्रानुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी, वार्षिक जनसंख्या वृद्धिदर लुम्बिनीमा धेरै
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेसको जनसंख्या सबैभन्दा बढी रहेको छ।
२०७८ मा जनसंख्याको आकारको हिसाबले दोस्रोमा बागमती प्रदेश, तेस्रोमा लुम्बिनी प्रदेश, चौथोमा प्रदेश १, पाँचौमा सुदूरपश्चिम, छैठौंमा गण्डकी अन्तिममा कर्णाली प्रदेश छन्।
गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम्बिनी प्रदेशबाहेक सबै प्रदेशको कुल जनसंख्यामा हिस्सा घटेको देखिन्छ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ। जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत हो।
दोस्रोमा रहेको बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ अर्थात २०.८४ प्रतिशत जनसंख्या रहेको छ।
तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ अर्थात १७.५५ प्रतिशत छ।
यस्तै चौथो स्थानमा रहेको प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना अर्थात कुल जनसंख्याको १७.०३ प्रतिशत जनसंख्या रहेको छ।
पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २ सय ७० अर्थात ९.२९ प्रतिशत जनसंख्या रहेको छ।
र छैठौं स्थानमा रहेको गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७४५ अर्थात ८.४९ प्रतिशत रहेको छ।
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.१५ जना) रहेका छन्। जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो।
दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै देखिन्छ।
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो।
जनघनत्वका आधारमा भक्तपुर पहिलो
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रति वर्गकिलोमिटर र मनाङमा सबैभन्दा कम तीन जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ।
जनघनत्वका आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्ला हुन्।
त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जनाप्रति वर्ग किमिभन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्दछन् ।
जनगणना २०७८: विदेशिने महिलाको संख्या १० वर्षमा ७१ प्रतिशतले वृद्धि
जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ।
१० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो।
अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन्।
त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन्।
१० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो।
जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए।
त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो। त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ।
यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू विदेशमा रहेको देखिन्छ।
१० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा
पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ। १० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात १३.८९ प्रतिशत वृद्धिदर रहेको छ।
सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ। यो हिसाबले हेर्दा १० वर्षमा गण्डकी प्रदेशमा ७ लाख ५९ हजार ८८ जना अर्थात ३.१६ प्रतिशतले वृद्धि भएको छ।
दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ।
यो सँगै पछिल्लो १० वर्षमा मधेश प्रदेशमा ७ लाख लाख २२ हजार १ सय ४३ जना थपिएका छन् अर्थात १० वर्षमा १३.३६ प्रतिशत वृद्धि भएको छ।
अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ।
नेपालको जनगणनामा समेटियो लिपुलेक, लिम्पियाधुराको जनसंख्या
नेपालको जनगणनामा लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ।
नेपालको अहिलेको जनगणनामा भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको जनसंख्याको पनि समेटिएको विभागले जनाएको छ।
प्रत्यक्ष रूपमा गणकहरू लिपुलेक, लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि प्रयोग गरेर जनगणना गरिएको विभागले जनाएको छ।
विभागका अनुसार लिपुलेक, लिम्पियाधुराको जनसंख्या अन्तिम परिणाममा समावेश हुनेछ। यसअघि २०१८ सालको जनगणनामा पनि लिपुलेक, लिम्पियाधुराको जनसंख्या समावेश गरिएको थियो। त्यसपछि उक्त क्षेत्रमा भारतीय सेना आएर बसेपछि नेपालले जनगणना गर्न सकेको थिएन।
२०७७ जेठमा नेपालले लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो।
प्रारम्भिक नतिजाभन्दा अन्तिम परिणाम २ देखि ३ प्रतिशतसम्म तलमाथि हुनसक्ने विभागले जनाएको छ।