नेपाल पर्वतारोहण संघले कुष्टरोगबाट ग्रसित २ सय व्यक्तिलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ।
संघले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको सहयोग परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्ब २ स्थित खोकना आरोग्य आश्रमका कुष्टरोगबाट ग्रस्ति दुई सय जना व्यक्तिलाई सहयोग गरेको हो।
आश्रमको प्रत्येक व्यक्तिले ज्याकेट ब्लाङ्केट, स्यानिटाइजर, साबुन र मास्क प्राप्त गरेका छन्। दक्षिणकाली नगरपालिका वडा नम्बर दुईका अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्टरोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र एनएमएका अध्यक्ष सन्तवीर लामाले कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
यस्तै, संघका महासचिव कुलबहादुर गुरूङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, सचिवालय सदस्यहरु सिङ्गी लामा, दीपेन्द्र पाण्डे र शीवबहादुर सापकोटा तथा केन्द्रीय सदस्यहरु सार्की तामाङ, पासाङ भोटे र सञ्जिव गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले पनि कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।
सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रीत व्यक्तिले खुसी व्यक्त गरेका थिए। ‘निप्पोन फाउण्डेशन र संघका अध्यक्षज्यूले हामीलाई सहयोग गर्नुभएको यो पहिलो पटक होइन। यसअघि पनि उहाँहरुले हामीलाई धेरै नै सहयोग गर्नुभएको छ’, क्याम्पमा लामो समयदेखि आश्रीत कुष्टरोगबाट ग्रसित उमाप्रसाद तिवारीले भने, ‘यो सहयोग वापत तपाईँहरूलाई दिन हामीसँग केही छैन। यहाँहरूलाई धरै धेरै धन्यवाद।’
एनएमएका अध्यक्ष लामाले यो सहयोगले आश्रममा आश्रीत व्यक्तिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘म यस्तै कार्यक्रम लिएर यो क्याम्पमा धेरै पटक आएको छु। यस पटक पनि द निप्पोन फाउण्डेशनकै कारणले यहाँ आएको हुँ,’ अध्यक्ष लामाले भने, ‘द निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई शासाकाव र कर्मचारीको माया हामीले धेरै पहिलेदेखि नै पाइरहेका छौं। यो सहयोगले तपाईँहरूलाई जाडो मौसममा केही सहयोग पुग्छ भन्ने विश्वास लिएको छु।’
कार्यक्रममा जुममार्फत द निप्पोन फाउण्डेशनका निर्देशक माकोटो वाडा र कार्यक्रम अधिकृत रेमी मामुदा सहभागी भएका थिए।