आफ्नै स्कुलको बसले ठक्कर दिँदा मंगलबार मोरङको रंगेलीमा चार वर्षीय एक छात्रको मृत्यु भएको छ भने अर्की ६ वर्षकी छात्रा घाइते भएकी छन्।
रंगेली –स्थित माउन्टेन मकालु बोर्ङिङ स्कुलको बसले ठक्कर दिँदा नर्सरीमा पढिरहेका रङ्गेली–५ का महादेव मण्डलका छोरा ४ वर्षका हृतिक मण्डलको मृत्यु भएको छ।
स्कुल बसको ठक्करले घाइते बालकलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही स्कुलमा एल केजीमा अध्ययनरत रङ्गेली–६ का नरेश मण्डलकी छोरी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी छन्। उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
को १ क ११३० नम्बरको स्कुल बसले दिउँसो ४ बजेतिर उनीहरू दुई जनालाई ठक्कर दिएको थियो।
स्कुल सकिएपछि घर जाँदै गरेका बालबालिकालाई स्कुल अगाडि नै बसले ठक्कर दिएको थियो।
प्रहरीले बस नियन्त्रणमा लिएको छ भने चालक भने फरार भएका छन्।