रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई पछिल्लो समय दाङमा बस्दै आएका दिलबहादुर विक असार १३ गते बिहान मोटरसाइकल मार्फत काठमाडौं जान भनेर हिँडे।
विकको बा ५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल आफ्नै हो। पासपोर्ट बनाउन भनेर उनी काठमाडौं जान लागेका थिए।
यात्राका क्रममा करिब पौने ११ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना रामापुरमा चिया पिउन रोकिए। मोटरसाइकल सडक छेउमै पार्किङमा थियो।
त्यसैक्रममा एक अपरिचित स्थानीय एक किशोर नजिकै आए। कस्तो राम्रो बाइक भन्दै सुमसुम्याए। उनले आफूलाई उक्त मोटरसाइकल खुबै मन परेको कुरा गरे।
ती किशोरले आफूले बाइक किन्न चाहेको बताए। तपाईं यो बाइक बेच्नु हुन्छ? भनेर विकलाई सोधे।
विक पनि आफ्नो बाइक बेच्न खोजिरहेका थिए। किनकी उनी विदेश जाने मनस्थितिमा थिए। केही पैसा पुगेको थिएन। त्यही अपुग पैसाको जोहो गर्न बाइक बेच्ने निर्णयमा पुगे।
त्यही उद्देश्यले असार १० गते मात्रै विकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मोटरसाइकलको फोटो राखेर एक लाख मूल्यमा बेच्न चाहेको भन्दै स्ट्याटस पनि लेखेका थिए।
विक र ती अपरिचित किशोरबीच कुरा भयो। उनीहरूबीच ९० हजारमा किनबेच गर्ने डिल पक्का भयो।
त्यसपछि ती किशोरले नाटक मञ्चन गरे।
खै कस्तो रहेछ भन्दै ‘टेस्ट राइड’ गर्न भनी चाँबी मागे। बाइक चलाएर अगाडि बढे। तर उनी फर्किएर आएनन्। नफर्किएपछि विक आत्तिए। के गरौं ? कसो गरौं, भयो।
त्यही बीचमा चिया पसलेले प्रहरीलाई सूचना दिन सुझाव दिए। सो बाहेक अरू विकल्प पनि थिएन।
उनले इलाका प्रहरी कार्यालय सालझण्डीमा पुगेर घटना विवरण बताए। प्रहरीको आग्रहमा निवेदन दिए।
पीडित विकको जाहेरीका आधारमा दुई दिन खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थित भित्री सडकमा मोटरसाइकल चलाइरहेकै अवस्थामा ती किशोरलाई पक्राउ गर्न सफल भयो।
‘टेष्ट राइड’ गर्ने भनेर मोटरसाइकलसहित फरार भएका ती व्यक्ति सैनामैना नगरपालिका-८ का १८ वर्षीय किशोर भएको खुलेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।