मितिनी नेपालले 'प्राइड सोसल इभेन्ट- २०२२' मनाएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारको लागि काम गरिरहेको मितिनी नेपालले बुधबार 'प्राइड सोसल इभेन्ट २०२२' मनाएको हो।
जुन महिनालाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गर्वको पर्वको रूपमा मनाउँदै आइरहेको र मितिनी नेपालले पनि हरेक जुन महिनाको २९ तारिखलाई हर्सोल्लासका साथ मनाउदै आइरहेको छ।
जुन गौरव महिनालाई अमेरिकाको न्यूयोर्कस्थित स्टोनवाल बारमा समलिंगी व्यक्तिहरूले प्रहरीले गरेको क्रुरता विरुद्ध आन्दोलन गरेका थिए। सो आन्दोलनमा मारिनेहरूको सम्झनामा सन् १९६९ मा स्टोनवालको दंगामा संलग्न व्यक्तिहरूको श्रद्धान्जलीको रूपमा हरेक जुन महिनालाई गौरव महिनाको रूपमा मनाउँदै आएको कार्यकारी निर्देशक सरीता के.सी.ले बताइन्।
उनका अनुसार गौरव महिनालाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको पहिचान, समानता, सुरक्षा, स्वतन्त्रता, मर्यादा र न्यायका लागि उत्सवको रूपमा विश्वभर मनाउँदै आएको छ।
कार्यक्रममा बोल्दै मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आइरहेको तिरस्कार, भोगाई, घृणा, अपमानको विरुद्ध समुदायले गर्दै आइरहेको संघर्षलाई निरन्तरता दिँदै समुदायको अधिकारका लागि गौरव महिना मनाउन थालेको जानकारी दिइन्।
उनले भनिन्, 'गौरवलाई समुदायको पहिचानसँग जोड्दै हाम्रो समुदायका व्यक्तिहरू इन्द्रेणी र दुर्लभ हिरा भएका छन्। साथै समुदायको मानवअधिकारको संरक्षण र संर्वद्धनमा सम्पुर्णको साथ र सहयोग आवश्यक रहेको र समुदायको राजनैतिक सहभागिता महत्वपुर्ण रहेको छ।'
त्यस्तै, रवि लामिछानेले समुदायको पहिचानको मुद्दालाई व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। पूर्व शहरी विकास मन्त्री रामकुमारी झांक्रीले आफू समुदायका लागि आन्दोलनको सुरुवातदेखि नै लागि परेको बताइन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचानसहितको नागरिकता पाउनुपर्ने व्यवस्थामा छलफल भइरहेको समेत झांक्रीले जानकारी दिएकी थिइन्।
ड्रयाग् शो, फेसन शो, नृत्य, संगीत, कमेडी समेत प्रस्तुत भएको कार्यक्रममा सांसद्, अधिकारकर्मी, गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, स्थानीय सरकारी निकायका प्रतिनिधि लगायतको उपस्थित थियो।