अर्काको नागरिकताबाट सिम निकालेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर हेटौडा उपमहानगरपालिका-१७ का ४१ वर्षीय गोपी बजगाईलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनले फेसबुक, ह्वाट्सएपबाट वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिने भन्दै एक जना व्यक्तिसँग कुराकानी गरेका थिए।
उनले पोर्चुगल जान ११ लाख रुपैयाँ लाग्ने बताएका थिए। ११ लाख भए पोर्चुगल पठाइदिने ग्यारेन्टीसमेत दिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।
बजगाईंले पीडित व्यक्तिलाई प्रक्रिया अगाडि बढाउन सुरूमै पैसा नचाहिने, नागरिकतालगायत कागजात भए पुग्ने बताएका थिए। उनले भिसा आएपछि मात्रै रकम तिर्नुपर्ने भन्दै विश्वास जितेको प्रहरीले जनाएको छ।
त्यसरी उनले पीडितको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरणलगायतका कागजात लिए। त्यसपछि पीडितकै नागरिकता लिएर त्यसैबाट सिमकार्ड निकाले।
उनले सिम कार्डको प्रयोग गरी बैंक खाता समेतमा पहुँच पुर्याएर मोबाइल बैंकिङबाट पैसा निकालेका थिए।
त्यही सिमको प्रयोग गरेर उनले एक जनाबाट तीन लाख ८६ हजार रुपैयाँ ठगेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
पीडितले कार्यालयमा उजुरी दिएपछि काठमाडौंको बानेश्वरबाट उनलाई बिहीबार पक्राउ गरिएको हो।
उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीको लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको कार्यालयले जनाएको छ।