राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरिमा अड्किएको छ।
तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरि डाँडामा जाँदै थिए।
विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ।
‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो। अहिले उहाँ माथि पुगिसक्नुभएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने,‘अड्किएका अरू केबलकार पनि जेनेरेटरबाट चलाउने काम भइरहेको छ।’
विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए।
चन्द्रागिरिका जनरल म्यानेजर सञ्जिब थापाले ‘टेक्निकल फल्ट’का कारण मात्रै रोकिएको बताए। उनका अनुसार केबलकार १५ मिनेटमात्रै अड्किएको थियो।
‘टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको हो। कहिलेकाहीँ देखाउँछ नि त्यस्तै। टावरहरूमा समस्या देखाउँदा अटोमेटिक रोकिन्छ। त्यो समस्या थाहा पाएपछि चलिहाल्छ,’ उनले भने, ‘मानिसहरू फसेका होइनन्। १०-१५ मिनेट समस्या डिटेक्ट गर्नलाई टाइम लाग्यो। त्यसपछि इमर्जेन्सी मोड हुन्छ। त्यसमा गएपछि मान्छेहरू फस्ने कुरै हुन्न।’
उनका अनुसार केबरकारमा कुनै पनि समस्या देखिएमा आफैं नै रोकिने गर्छ।
‘कुनै पनि फल्ट देखियो भने केबलकार अटोमेटिक रोकिन्छ। टेक्निकल कुरा हो। सुरक्षाको हिसाबले पनि समस्या देखियो भने रोकिनु राम्रै हो,’ उनले भने, ‘सिस्टम नै यस्तो छ।’