विप्लव नेतृत्वको नेकपा सल्यानका एक नेता मृत फेला परेका छन्।
नेकपाका विशेष कमिटी सदस्य तथा पूर्वजिल्ला इन्चार्ज ५४ वर्षीय लोकपाल केसी (महेन्द्र) बिहीबार मृत फेला परेका हुन्।
उनी बागचौर नगरपालिका-१० मोख्लास्थित धान खेतमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पे ठूलीखर्कका केसीको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीको छ।
केसीका आफन्तहरू भने उनको हत्या भएको दाबी गरिरहेका छन्।
केसी गत स्थानीय निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको डिएसपी खड्काले बताए।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।