प्रहरीले निहारिका राजपुतलाई सिंहदरबारबाट नियन्त्रणमा लिई बसन्तपुरमा लगेको छ।
आफूले न्याय नपाएको भन्दै सिंहदरबार क्षेत्रमा अनशन बस्न पुगेकी राजपुतलाई प्रहरीले निषेधित क्षेत्रमा अनशन बस्न नपाउने भन्दै बसन्तपुर पुर्याएको प्रहरीले जनाएको छ।
‘सिंहदरबार क्षेत्रमा कहीँ कतै बस्न पाइँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘तर उहाँ अनशन बस्ने हिसाबले दक्षिण ढोकामा आउनुभएको थियो।’
प्रहरीका अनुसार उनलाई प्रहरी चौकी नलगिकन सिधै अनशन बस्ने भए बसन्तपुर एरियामा गएर बस्नु भनी उतै लगेर छोडिएको हो। उनी बालकलाई च्यापी अनशन बस्न सिंहदरबार क्षेत्र पुगेकी थिइन्।
प्रहरीका अनुसार उनलाई राम्ररी भ्यानमा राखेर बसन्तपुर छोडिदिएको हो।
निहारिका १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। बलात्कारपछि छोरा जन्मिएको उनको दाबी छ।
न्यायको लागि भौतारिरहँदा पनि आफूलाई गलत देखाएको भन्दै उनी अनशन बस्दै आएकी छिन्।