प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
बाग्लुङको बाग्लुङ नगरपालिका-३ घर भई काठमाडौंको बसुन्धारा बस्दै आएका ५२ वर्षीय छत्रबहादुर रोक्का क्षेत्रीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार क्षेत्रीले पीडितसँग जग्गा बैनाको लागि ४० लाख रुपैयाँ लिएका थिए। उक्त जग्गा पास गर्न नसकेपछि उनले चेक काटेर पैसा फिर्ता गर्न लागेको प्रहरी उपरीक्षक कोइरालाले बताए। बैंकमा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको थियो।
प्रहरीले उनलाई बुधबार बसुन्धाराबाट पक्राउ गरेको हो।
आवश्यक कारबाहीका लागि क्षेत्रीलाई प्रहरी वृत्त बानेश्वर पठाएको जनाइएको छ।