भेटाएको नागरिकताको दुरूपयोग गरी कम्पनी खोलेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई बुधबार पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २८ वर्षीय सुरेश भन्ने प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई बूढानीलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड गाउँपालिका-८ घर भई बूढानीलकण्ठ नगरपालिका-२ बस्ने २१ वर्षीय रामकृष्ण रावतलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा एभरेष्ट लिंक इन्टरनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेका थिए।
तर उनीहरूले आफ्नै नागरिकताको प्रयोग गरी उक्त कम्पनी दर्ता गराएका थिएनन्। उनीहरूले एउटा भेटाएको नागरिकता प्रयोग गरे।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेयको नागरिकता हराएको थियो। सोही फेला परेको नागरिकताको प्रयोग गरी उनीहरूले कम्पनी खडा गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
उनका अनुसार यसरी कम्पनी बनाएर सुरेशलाई सिइओ बनाइएको थियो। सेञ्चुरी बैंक र कुमारी बैंकमा निरज पाण्डेयको नाममा विशालले खाता खोले भने रामकृष्ण कम्पनीका सहजकर्ता बने।
पीडित पाण्डेयले आफ्नो हराएको नागरिकता पेश गरी बैंकमा खाता खोलेर वैदेशिक रोजगारमा रसिया पठाइदिने प्रलोभनमा पारेर आफ्नो नामबाट सर्वसाधरणलाई ठगी गरिरहेका छन् भन्दै जाहेरी दिएका थिए।
त्यसको आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तीन जनालाई ज्ञानेश्वरस्थित अफिसबाट पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।