बुटवलमा पहिलो पटक घिन्ताघिसि जात्रा प्रदर्शन गरिएको छ।
गाईजात्रा अन्तर्गतको यो जात्रा यसअघि काठमाडौं उपत्यकामा मात्र सीमित रहेको थियो। घिन्ताघिसि जात्रा पहिलो पटक बिहीबार बुटवलमा प्रदर्शन गरिएको हो।
नेवाः सेवा समिति बुटवल वडा नं. १ र २ ले पहिलो पटक बिहीबार बिहान यो जात्रा प्रदर्शन गरेको हो।
विश्वहिन्दु महासंघको भवनबाट सगुन लिएर सुरू गरिएको यो जात्रा पुरानो बटौलीको गणेश मन्दिर पुगेर त्यहाँबाट गणेशथान, दुर्गा मन्दिर गोलपार्क, जितगढी कालिका मन्दिर हुँदै अमरपथबाट पुनः गणेश मन्दिरमै पुगेर समापन गरिएको थियो। जात्रामा सहभागी महिला पुरूषहरू नेवारी परम्परागत पोशाकमा सजिएर नेवारी संस्कृतिकै बाजागाजाको तालमा नाचगान समेत गरेका थिए।
बुटवलमा बाक्लो नेवारी बस्ती रहे पनि अहिलेसम्म प्रदर्शन नगरिएको यो जात्रालाई पहिलो पटक प्रदर्शन गर्न सफल भएको नेवाः सेवा समितिका सदस्य मदन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले पहिलो पटक निकालिएको जात्रा भएकोले भक्तपुरबाट नेवाः कलाकारहरू आएर बुटवलमा नेवारी कला र संस्कृतिको पहिचान दिन सफल भएको बताए।
भक्तपुरबाट आएको कलाकार टोलीले माको प्याखँ (बाँदर नाच), लुसी प्याखँ (मुसल नाच) तथा घ्यान्ताङ घिसी प्याखँ (लट्ठी जुधाएर नाचिने नाच) प्रदर्शन गरेको नेपाल भाषा साहित्य तः मुज्या उपत्यका संयोजक राजवीर डंगोलले जानकारी दिए।
उनले संस्कृति आदान प्रदान र नेवाः संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यका साथ घिन्ताङ घिसी नाच लिएर आफूहरू बुटवल आएको बताए।
नेवार समुदायमा सात दिनसम्म घिन्ताङ घिसी नाच, माक प्याखँ (बाँदर नाच), लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गर्ने परम्परा रहेको डंगोलले बताए।