कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ।
प्रदेश प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार दसैं र तिहारलाई लक्षित गरी प्रदेशभर ४ हजार १४१ जना प्रहरी सुरक्षामा खटिने भएका छन्।
चाडपर्व लक्षित सुरक्षा योजना आइतबारदेखि लागू हुनेछ। प्रदेशका विभिन्न जिल्लामा १२५ वटा प्रहरीको क्युआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिने छ। नियमित चेक प्वाइन्ट ३१ स्थानमा निरन्तर गर्ने, आवश्यकता अनुसार आकस्मिक चेकिङ गर्ने, ५३ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ गर्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।
यस्तै चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच टोली खटाउने, झैझगडा, जुवातास, चोरी, माधक पदार्थ सेवन जाँच गर्न ८६ स्थानमा प्रहरी खटाउने, २६५ स्थानमा मोबाइल तथा पैदल गस्ती गर्ने, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटकीय स्थलहरुमा सुरक्षा तथा बजार अनुगमनका लागि ७५ स्थानमा प्रहरी परिचालन गर्ने योजना कर्णाली प्रदेश प्रहरी कार्यालयको छ।
श्रेष्ठका अनुसार कर्डन सर्च तथा एम्बुस टोली १० स्थानमा खटाइनेछ। १८ स्थानमा लामो दुरीका सवारी चेकिङ गरिनेछ भने प्रदेशभर २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने योजना रहेको छ।
चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्ने, कुनै प्रकारको दुर्व्यवहार तथा आपराधिक घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने, कालोबजारी कृत्रिम अभाव सिर्जन हुन नदिने, सडक सुरक्षा तथा सुदृढ ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ चाडपर्व लक्षित सुरक्षा योजना तयार पारिएको श्रेष्ठले बताए।
गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवातास जस्ता आपराधिक घटना, ट्राफिक नियमको उल्लंघन तथा सवारी दुर्घटना, महिला तथा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार, चाडपर्वको अवसरमा हुने लागुऔषध बेचबिखन एवम् ओसारपसार, भन्सार तस्करी, अवैध हातहतियारको ओसारपसार जस्ता चुनौ प्रहरीलाई रहेको उनले बताए।
चाडबाडका बेला क्राईम हटस्पट पहिचान गर्न कुकुरसहितको चेकिङको व्यवस्था गर्ने, रिफ्रेस सेन्टर, सिसी क्यामरा, सवारीको गती चेक गर्ने गनलगायतका प्रविधिको उच्चतम प्रयोग गर्ने रणनीति प्रदेश प्रहरीले बनाएको छ।