सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा जागिर खाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले गीताविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
गीता कैलालीको शिव माध्यमिक विद्यालय देवरियामा कार्यरत प्राथमिक तहकी राहत शिक्षिका हुन्।
उनको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेको थियो। उक्त निवेदनको आधारमा अनुसन्धान सुरू गरिएको थियो। सोहि क्रममा बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट प्रमाणपत्र बनाएको पाइएको हो। उनले एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक प्रमाणपत्र फेला परेका अख्तियारले जनाएको छ।
‘आफ्नो योग्यता डाँटी झुटा प्रमाणपत्र पेस गरेर राष्ट्र सेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानी-नोक्सानी पुर्याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको छ,’ विशेष अदालतमा पेस गरेको अख्तियारले दर्ता गरेको आरोपपत्रमा लेखिएको छ।