स्वर्गीय डा. हर्क गुरूङको १६ औं स्मृति दिवस मनाइएको छ।
नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार संघ-संस्थाहरूले संयुक्त रूपमा एक कार्यक्रम आयोजना गरी स्वर्गीय डा. हर्क गुरूङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो।
कार्यक्रममा डा. गुरूङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाइ सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो।
गुरूङ सर्वस्विकार्य र बोलेको सबैले विश्वास गर्ने व्यक्ति भएको प्राध्यापक डा. सुवेदीले बताए।
‘उहाँको योगदानलाई कुनै एक विषयमा मात्रै सिमित गर्नु कठीन छ,’ उनले भने, ‘नेपालको भविष्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उहाँ हो। उहाँले गर्नुभएको अनुसन्धान र प्रकाशित पुस्तकहरूबाट पनि यो तथ्य प्रमाणित भएको छ।’
नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापक एवं संस्थापक सल्लाहकार स्वर्गीय डा. गुरुङको १६ वर्षअघि वन्य जन्तु संरक्षण सम्बन्धित एक कार्यक्रममा सहभागी भई फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।
उनको सम्झनामा एनएमएसहित गुरूङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमु बौद्ध सेवा समिति र न्यू एराले संयुक्त रूपमा स्मृति सभाको आयोजना गरेको हो।