चिकित्सा शिक्षाको सुधारको मागसहित अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्ने तयारी गरेका छन्।
डा. केसीको माग पूरा गर्न सरकार तयार देखिएपछि अनसन तोड्ने तयारी भइरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
‘अहिले सहमतिको मस्यौदा तयार भइरहेको छ। मस्यौदाहरूमा छलफल भइरहेको छ। त्यसमा हस्ताक्षर गरेर उहाँले अनसन तोड्नुहुनेछ। अहिलेसम्म सरकार माग पूरा गर्ने मनस्थितिमा छ,’ उनले भने।
केसीले भदौ २७ बाट धनगढीको कृष्ण मन्दिरमा अनसन सुरू गरेका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याएर टिचिङ अस्पताल महाराजगञ्जमा ल्याइएको थियो।
डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने सहितका माग राखेका थिए।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९, ०९:११:००