प्रहरीले ललितपुरबाट २५ लाख बराबरको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले ललितपुरबाट २५ लाख ५१ हजार ६०० बराबरको लागुऔषध एम्पुलसहित तीन जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२५ का ३९ वर्षीय अर्जुन ढकाल, बाराको कलैया उपमहानगरपालिका-८ का २१ वर्षीय अजय महत्तो र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ का ४४ वर्षीय रामबहादुर तिमिल्सिना हुन्।
उनका अनुसार प्रहरीले उनीहरूको साथबाट १२ हजार ७५८ एम्पुल नियन्त्रणमा लिएको हो।
प्रहरीले उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। सोही आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए।
उनका अनुसार अर्जुनले लागुऔषध राख्नकै लागि भनेर बागडोलमा कोठा लिएका थिए। त्यस्तै, अर्जुनको बस्ने कोठा र भण्डारणका लागि लिएको कोठा, गाडीबाट भारी मात्रामा एम्पुल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका अर्जुनमाथि अनुसन्धान गर्दै जाँदा अजय र रामको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।
राम न्यु एन्जल कम्पनीको बसका सहचालक हुन् भने अजय चालक हुन्। उनीहरूलाई थसीखेलस्थित सडक किनारबाट बसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले १२ हजार ७५८ एम्पुल, बोलेरोको गाडी र भाडाको बस नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।