लुम्बिनी आएका विदेशी पर्यटकलाई स्वागत गर्दै बुद्ध जन्मभूमि लुम्बिनीमा ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ।
लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संघसंस्थाहरूले पर्यटन दिवसको अवसरमा लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूलाई खादा लगाइदिएर स्वागत गरी पर्यटन दिवस मनाएका हुन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, होल्याण्ड र भारतबाट आएका बाह्य पर्यटकहरूलाई खादा लगाएर लुम्बिनीमा स्वागत गरेका थिए।
पर्यटकहरूलाई खादा लगाएर स्वागत गर्दै शान्ति दीपदेखि मायादेवी मन्दिरसम्म लगिएको थियो। सोही क्रममा स्थानीय साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको उल्लेख गर्दै पर्यटन दिवसको अवसरमा विदेशी पाहुनालाई स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरे।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरू निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनेको बताए।
विगतमा कोभिड महामारीका कारण पर्यटकहरूको आगमन केहि सुस्ताएको भएपनि सबै क्षेत्रबाट सहज वातावरण बन्दै जाँदा पर्यटकहरूको आगमन बढ्न थालेको बताए। लुम्बिनी विकास कोषले पर्यटकलाई भ्रमणका लागि टुरगाईडको समेत व्यवस्था गरेको बताए।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा पर्यटकहरूलाई लक्षित गरि विशेष प्याकेजका कार्यक्रमहरू समेत सञ्चालन गरिएको बताए।