घैँटाको मुख्य भागमा प्वालै प्वाल छन्। बाँसको फाटा (भाटा) को फ्रेम बनाएर चार वटा घैँटा चारतिर झुन्ड्याइएका छन्। एउटामाथि अर्को खप्टेर दुई वटा घैँटा टाउको माथि राखिएका छन्।
यी ६ वटै घैँटा एउटै फ्रेममा जडित छन्।
अर्को गज्जब के छ भने यी ६ वटै घैँटामा दियो बालिएका छन्।
फ्रेममा जडित यी ६ वटा घैँटा टाउकोमा बोकेर साँझदेखि मध्यरातसम्म गीत गाउँदै नाच्छन् महिलाहरू।
एउटा गीतको बोलको एक अंश यस्तो छ–
तोहरे भरोसे ब्रह्मबाबा झिझिया बनौलिय हो।
ब्रह्मबाबा भिझियापर होइयौ न सवार।
घटस्थापनादेखि दसैंभरि नाचिने यो झिझिया नृत्य हो। यसमा खास किसिमको नृत्य हुने भए पनि ‘झिझियाँ खेल्ने’ भन्ने चलन छ।
जनकपुर धाममा महिलाहरूको एउटा समूह टाउकोमा ६ वटा घैँटा बोकेर झिझिया गीत गाउँदै साँझ ७ बजे ब्रह्मस्थान पुग्छ। झिझियासँगै डिजे बाजा पनि बज्छ।
यो समूहकी नाइके हुन् ४८ वर्षीया गीता सदा।
ब्रह्मस्थानपछि यो समूह गोविन्द स्थान, जानकी मन्दिर, राजदेवी मन्दिर, विशहारा थान लगायतका शक्तिपीठमा पुगेर झिझिया नाच्छ।
टोलका घरदैलोमा पनि पुग्छ। दर्शकहरूले उक्त समूहलाई नगद दान गर्छन्।
जनकपुरधाममा मात्रै होइन, दसैंमा मध्य तराईका अधिकांश सहर बजारमा गानाका साथ झिझिया नृत्य हुन्छ।
यो मुसहर समुदायको परम्परागत नृत्य हो। मुसहरको बसोबास रहेको ठाउँमा झिझिया गाउने–नाच्ने चलन छ।
जनकपुरधाम उपमहानगर–७, विशाल टोल घर भएकी गीता सदा आफ्नो समूहका सदस्यहरूका साथ झिझिया नाचेको ३७ वर्ष भयो। उनी बालबालिकालाई पनि झिझिया नृत्य सिकाउँछिन्। समूहमा सदस्य बढाउँछिन्।
समूहका चारजना महिला पालैपालो दियो बालिएका घैँटासहितको झिझिया बोक्छन्। अन्य सदस्यहरू गीत गाउँदै नाच्छन्। गीताको समूहमा मुसहरी टोलका दुई जना पुरुषसहित २० जना छन्।
दसैंभरि झिझिया नाच्दा गाउँघरबाट भुतप्रेत भाग्छ विश्वास छ।
‘झिझिया खेल्दा बालबच्चाको सुरक्षा हुन्छ। हामीमाथि महरानीजीको आशीर्वाद लाग्छ। बोक्सी र धामीले परिवारका कसैको केही बिगार्न सक्दैनन्,’ गीता भन्छिन्, ‘घैँटा हेर्दा पाँच किलोको पनि लाग्दैन तर देवीमाता सवार भएकाले बोक्दा ५० किलोभन्दा बढी लाग्छ।’
यहाँ भनिएकी ‘महारानी’ वा ‘देवीमाता’ दसैंमा आराधना गरिने शक्तिकी देवी हुन्।
संस्कृतिविद परमेश्वर कापरीका अनुसार दसैंमा दुई किसमका शक्तिको प्रादुर्भाव हुन्छ– आश्रेय शक्ति र आसुर शक्ति।
आश्रेय शक्तिले सकारात्मकता र आरोग्यता दिन्छ। असुरी शक्ति विध्वांसत्मक हुन्छ। मिथिलामा तान्त्रिक पद्धति र लोक विधिबाट विध्वंशात्मक असुरी शक्तिको शमन गर्ने परम्परा छ।
उनका अनुसार यसैको लोक परम्परा झिझिया गीत–नृत्य हो।
कापरीले भने, ‘झिझियामा मन्त्र र लोकगीत हुन्छ। गीत र नृत्यमार्फत भवती एवं ब्रह्मको गुहार गरिन्छ। दुुर्गा देवीलाई जगाएर सिद्धि प्राप्त गरिन्छ।’
विशेष गरी दसैं, छठ र अन्य केही पर्वमा स्थानीय संघ संस्थाले आफ्ना कार्यक्रममा झिझिया समूहलाई बोलाउँछन्। यस बापत केही शुल्क तिर्छन्।
गीताका अनुसार उनको समूहले तराईका विभिन्न जिल्ला र काठमाडौंमा समेत झिझिया नाचेको छ।
सोही समूहका फुलवा सदाका अनुसार घटस्थापनाको एक साताअघि गीत–नृत्यको तयारी सुरू हुन्छ। कुमालेलाई बाक्लै प्वाल भएका घैँटा बनाउन लगाइन्छ।
घैँटाको प्वाल कसैले गन्नु हुँदैन भन्ने विश्वास छ। प्वाल गन्दा अनिष्ट हुन्छ भन्ने मानिन्छ।
नाच सुरू हुने चार दिनअघि बाँस किनेर सुकाइन्छ। त्यसलाई चिरेर फटा (भाटा) बनाइन्छ।
घटस्थापनाको एक दिनअघि समूहका सदस्यहरू जम्मा हुन्छन्। यस दिन जनकपुरधामका सबै शक्तिपीठमा सलामी चढाउँछन्।
सलामी चढाएपछि महरानीको शक्तिको प्रभाव पर्छ र कुनै नकारात्मक शक्तिले काम गर्दैन भन्ने विश्वास छ।
गीताको समूहका निर्देशक शम्भु सदाका अनुसार ढोलक, झ्याली लगायतका परम्परागत बाजा बजाउँदै र गीत गाउँदै झिझिया नृत्य गर्ने चलन थियो।
केही वर्षयता डिजे बाजाले प्रवेश पाएको छ। डिजे बाजा प्रवेश भएपछि परम्परागत संस्कृति मासिन थालेको शम्भुको भनाइ छ।
उनले भने, ‘झिझियामा पनि नयाँ फेसन आयो। यसले हाम्रो परम्परा मासिने डर भयो।’
शम्भुका अनुसार झिझिया नृत्य मुसहर समुदायको परम्परा भए पनि मधेशका अरू जातिले पनि झिझिया मनाउँछन्।
शम्भुले भने, ‘अरू समुदायका कालाकारले झिझियाको अडियो, भिडियो बनाए तर त्यसमा अरू कुरा पनि मिसाए। पैसा नभएर हामीले बनाउन सकेनौँ, सत्य देखाउन सकेनौँ।’
उनका अनुसार झिझिया नृत्य कम हुँदै मुसहर समुदायमा मात्र सीमित छ। विशालपुरका बासिन्दा मंगल सदाका अनुसार मुसहर समुदायले बालबच्चालाई सानैदेखि वर्ष झिझिया गीत र नाच सिकाँछन्।
शास्त्रीय ज्ञानको अभावले झिझियाप्रतिको आस्था कम हुँदै गएको संस्कृतिविद कापरीको भनाइ छ।
उनले भने, ‘झिझिया तन्त्रमन्त्रमा आधारित योगिनी नृत्य हो। सरकारले तन्त्रमन्त्र झुट हो भन्छ। यसकारणले पनि कम हुँदै गयो।’
उनका अनुसार चाँडै लोप भइहाल्ने त होइन तर नयाँ पुस्ताले नगर्ने र नयाँ बाजा मिसाउने हो भने झिझियाको मौलिकता नष्ट हुनेछ।