नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।
नारायणी नदीको सतह बिहानैदेखि चेतावनीको तहभन्दा माथि पुगेको थियो। देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ। नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ। अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह ९.०९ मिटर पुगेको छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।
नारायणी नदीको तह नारायणघाटस्थित पुलमा ११.७८ मिटर पुगेको छ। यहाँ ११ मिटर पानीको सतह पुग्दा नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिन्छ।
तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभागको वेवसाइटले पानीको सतह निरन्तर बढिरहेको जनाएको छ।
नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।
यसैगरी पानीको तह चितवनको राप्ती र बूढी राप्तीमा पनि बढिरहेको छ। रत्ननगर नागरपालिकास्थित बूढी राप्तीको बाढी वडा नम्बर ८ मा पर्ने बाघमारा क्षेत्रको बस्तीमा पसेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बाघमारास्थित रमाइलोडाँडा गाउँमा बाढी पसेर क्षति पुर्याएको जानकारी दिए।
लगातारको वर्षाले बस्तीमा पानी जमेपछि भरतपुर महानगरपालिका–२६ दिव्यनगरको सिसैका दुई परिवारलाई प्रहरीले स्थानीय विद्यालयमा सारेको छ।