काठमाडौं महानरपालिकाले २८ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाउने भएको छ।
महानगरापलिकाले २८ औं स्थापनाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।
उनका अनुसार मंसिर २३ गते बिहान विशेष सरसफाइ गरी औपचारिक रूपमा कार्यक्रम सुरू गरी दिवस मनाइने छ।
२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ गते महानगर दिवसका रूपमा मनाइँदै आएको उनले बताए।
कार्यक्रममा अनलाइनमार्फत् सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरूको रूची बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरू लागि चित्रकला र निबन्ध लेखन, शिक्षक स्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बीचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछ।
यस्तै परम्परागत गुरूहरूको सम्मान, मेयर ११ र प्रमुख प्रशाकसीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुने बताइएको छ।
कलाहरूको प्रवर्द्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्बिर र प्रदर्शनी पनि हुनेछ।
मानन्धरका अनुसार महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न खाना मेला लगायतका विभिन्न कार्यक्रम हुनेछ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, ०८:३३:०१