अधिवक्ता निहिताविश्वासले १९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई सुरक्षित घर फर्काउन चाहेको बताएकी छन्।
उनले शुक्रबार सेतोपाटीसँग कुरा गर्दै शोभराजलाई मुटुको भल्भको समस्या रहेको र सुरक्षित घर फर्काउन जरूरी भएको बताइन्।
शोभराजको स्वास्थ्य स्थितिलाई लिएर सर्वोच्चले कैदमुक्त गरेको र मुटुको रोग लागेर निधन हुनसक्ने भएकाले केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउन लागिएको समेत उनले जानकारी दिइन्।
‘कुनै विलम्ब नभए आजै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ,' उनले भनिन्।
शुक्रबार चार्ल्स शोभराज छुट्दा कस्तो लाग्यो भन्ने सेतोपाटीको प्रश्नमा उनले भनिन्, ‘हाम्रो निजी सम्बन्ध कानुनकै कारण भएको थियो। यति लामो समयपछि उनी छुटेका छन्। अहिले म आफ्नो निजी कुरा गर्न चाहन्नँ। उनी सुरक्षित घर पुग्न सकुन् भन्ने मात्रै मेरो चाहना हो।’
धेरै वर्षपछि आफूहरूको लडाईं सकिएको उनले बताएकी छन्। साथै उनले शोभराजका वकिलहरूको टिमलाई बधाई समेत दिएकी छन्।
‘धेरै वर्षपछि हाम्रो लामो लडाईं सकियो। सर्वोच्च अदालतले २०७५ सालपछि नै शोभराजलाई छोड्न सकिने भन्दै विभिन्न आदेशहरू दिएको थियो। तर सरकारी अड्डाहरूले निर्णय गर्न सकेनन्। अहिले भने सर्वोच्चले धेरै कुरा हेरेर राम्रो फैसला गरेको छ,’ उनले भनिन्, ‘सर्वोच्चको यो निर्णय शोभराजमात्र होइन अरू विदेशी कैदीबन्दीको हकमा राम्रो छ। त्यसैले म वकिलहरूको टिममा रहेका बरिष्ठ अधिवक्ता लोकभक्त राणा, रामबन्धु शर्मा, शकुन्तला थापा र निहिताविश्वासलाई बधाई दिन चाहन्छु।‘
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज आज कारागारबाट मुक्त भएका हुन्।
हेर्नुहोस् भिडिओ