पहिले आफैंले काम गरेको कार्यालयबाट नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ४ मा घर भइ घोराही-१५ काठेकोहलमा डेरी गरी बस्ने १८ वर्षीय रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार माघ ५ गते घोराही–१५ स्थित ग्लोबल ओरेन्स नेपालमा चोरी भएको थियो। उक्त कार्यालयको बिक्री कक्षको दराज फोडेर एक लाख ९१ हजार नगद चोरी भएको निवेदन प्रहरी कार्यालयमा परेको थियो।
निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यालयकै पूर्व सहयोगी कर्मचारी चौधरीमाथि शंका लागेर उनको डेरामा प्रहरी पुगेको थियो। उक्त डेराबाट एक लाख ८८ हजार रुपैयाँ फेला परेको डिएसपी गौतमले बताए।
स्थानीयसँग सोधपुछ र अनुसन्धान गर्ने क्रममा केहीले चौधरी माथि विगतका गतिविधिका कारण आशंका गरेपछि प्रहरी उनको कोठामा तलासी गर्न गएको डिएसपी गौतमले जानकारी दिए।
चोरी सम्बन्धी मुद्दा चलाएर चौधरीमाथि थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले बताए।