सर्भरमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अवरूद्ध भएका छन्।
शनिबार दिउँसो सरकारी सर्भरमा समस्या आएको हो। हाल सबै सरकारी वेबसाइटहरू अवरूद्ध छन्।
डेढ घन्टादेखि उक्त समस्या आइरहेको हो। जसले गर्दा अध्यागमन विभागको वेबसाइट पनि खुलेको छैन।
अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
‘सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्,’ उनले भने।
यसरी सर्भरमा समस्या आउँदा यात्रुहरू अलपत्र परेका छन्।
राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले अहिले सर्भर बनाउने काम गरिरहेको छ।
विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो लगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ।