सडकबाट अपांगता भएका व्यक्तिलाई महानगरले पक्राउ गरेको विषयमा काठमाडौं महानगर प्रहरी बलले स्पष्टीकरण दिएको छ।
दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको प्रहरी बलले बताएको छ।
उनी सडकमा चुरोट तथा गुट्खालगायतका वस्तु बिक्री गरिरहेको बताउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘सडकमा भएका सहयोगापेक्षीहरूलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौं। स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने काम गरिरहेका छौं। कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो। यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो। यस्तो प्रचार गलत हो। हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरूको व्यवस्थापन गरिरहेका छौं। कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो।’
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो।
सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ। प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन।