नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।
'उहाँलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरेको थियो। त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएछ। अस्ती राति २ बजेबाट गाह्रो भएको थियो। त्यसपछि आइसियुमा राखेर थप उपचार गरिरहेको बेला आज बिहान उहाँ स्वर्गे भइबक्स्यो,' थापाले भने।
विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनी केही साताअघिदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए। ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्।
१४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।
जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।
उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरेका थिए।
यस्तै सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भए।
साविक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरिसकेका उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार हुन्।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९, १०:३६:००