घरबाटै अनलाइन सेवा — सरकारको यो नारा सुन्दा लाग्छ, प्रविधिले नागरिकको दैनिकी सहज बनाइसकेको छ।
तर यथार्थ सरकारले भनेजस्तो छैन।
संघीय राजधानी काठमाडौंकै अवस्था हेर्ने हो भने अनलाइनबाट सहज सेवा उपलब्ध गराउने सरकारको दाबी पानीको फोका साबित भएको प्रस्टै देखिन्छ।
अहिले अत्यावश्यक खाना पकाउने ग्यासदेखि राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, अस्पतालको टिकट लगायत थुप्रै सरकारी सेवाका लागि आमनागरिकले घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ। जताततै देखिने उपभोक्ता तथा सेवाग्राहीहरूको 'लाइन' ले सरकारको 'अनलाइन' नाराको यथार्थ उदांग पारिदिएको छ।
यसको एउटा झलक टेकुस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा लागेको एलपी ग्यास उपभोक्ताको लाइन हो।
केही समयदेखि आधा सिलिन्डर ग्यास मात्र बेच्दै आएको आयल निगमले पूरा बेच्न थालेपछि एक्कासि माग बढ्न गई बजार अभाव भएको जनाएको छ। यसैको प्रभावले साल्ट ट्रेडिङ लगायतका डिपोहरूमा उपभोक्ताको खचाखच लाइन लागेको हो।
मिर्मिरेमै सिलिन्डर काँधमा बोकेर आएका उपभोक्ता झमझम झरीको बीच पनि घन्टौं पालो पर्खिरहेका देखिन्छन्। कोही पालो कुर्दाकुर्दा थकित भएर ग्यास सिलिन्डरमाथि बसेका हुन्छन् त कोही काँधको बोझ बिसाउने ठाउँ नपाएर टोलाइरहेका हुन्छन्।
आपूर्ति नियमित भए पनि एक्कासि माग बढेकाले यो स्थिति आएको निगमको भनाइ छ। यसलाई सन्तुलनमा ल्याउन केही समय बढी ग्यास आयात गर्न भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग कुरा भइरहेको अधिकारीहरू बताउँछन्।
ग्यास अभाव सुरू हुनु अगाडिदेखि नै त्रिपुरेश्वरको राहदानी विभागमा विदेश जान पासपोर्ट बनाउन आएकाहरूको खचाखच लाइन लाग्दै आएको थियो, जुन अहिले पनि जारी छ।
विभागको प्रवेशद्वारदेखि बाहिर सडकसम्म तीनवटा लाइन जेलिएका देखिन्छन्। कोही आवेदन बुझाउन आएका छन्, कोही बायोमेट्रिक दिन त कोही राहदानी लिन। मुख्य सडकदेखि पार्किङ हुँदै बेसमेन्टसम्म जेलिएका यी लाइन कहिले सकिने हुन्, सेवाग्राहीलाई पत्तो छैन।
उता राष्ट्रिय परिचयपत्रको काम त करिब एक महिनादेखि ठप्प नै छ।
ग्यास र राहदानी मात्र होइन, बिरामी भएर अस्पताल धाएका सेवाग्राहीले पनि लाइनबाट मुक्ति पाएका छैनन्।
देशकै जेठो वीर अस्पतालको कथा झनै कारूणिक छ। ओपिडी टिकट काउन्टरमा बिरामीको खचाखच भिड लागेको हुन्छ। अस्पतालकै अर्को काउन्टरमा स्वास्थ्य बिमाको फाइल बोकेका वृद्धवृद्धाको लाइन देखिन्छ भने डाक्टरलाई रिपोर्ट देखाउन आएका बिरामीको छुट्टै लाइन छ।
हामीले यसबारे अस्पतालका कर्मचारीसँग कुरा गर्दा पछिल्लो समय कम्प्युटर सर्भर सुस्त भएकाले सेवाग्राहीहरू प्रभावित भएको बताए।
'सर्भर नै चल्दैन, हामीले मात्र के गर्नु?' अस्पतालका एक कर्मचारीले दुःखेसो पोखे।
हामी यसबारे रिपोर्टिङ गर्न जाँदा अस्पतालका सुरक्षा गार्डले रोक्न खोजेका थिए। त्यही बेला लाइनमा उभिएका बिरामी र आफन्त त्यसको प्रतिकार गर्दै हाम्रो बचाउमा उभिए।
उनीहरूकै अगाडि एक कर्मचारीले आग्रह गरे, 'सर, यो अवस्था बाहिर आउनैपर्छ। सर्भर नचल्दा बिरामीसँगै हामी पनि पेलिएका छौं, अलि गतिलो समाचार बनाइदिनुस्।'
सरकारले डिजिटल सेवा र अनलाइन प्रणाली विस्तारको घोषणा गरिरहँदा संघीय राजधानीमै जताततै देखिएका यी लाइनले भनाइ र गराइबीचको विभद छर्लंग पारेको छ।
यसले एउटै प्रश्न खडा गर्छ — सरकारको भनिरहेको 'अनलाइन सेवा' नागरिकको सहजताका लागि हो कि केवल प्रचारका लागि?
तस्बिरमा हेर्नुहोस्, विभिन्न ठाउँमा लागेको लाइनको झलक —
टेकुस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा ग्यास लिनेको लाइन
-1786082482.jpg)
-1786082482.jpg)
-1786082482.jpg)
-1786082482.jpg)
-1786082481.jpg)
-1786082481.jpg)
त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट लिनेको लाइन
-1786082581.jpg)
-1786082582.jpg)
-1786082582.jpg)
-1786082582.jpg)
-1786082582.jpg)
-1786082582.jpg)
-1786082582.jpg)
-1786082581.jpg)
-1786082581.jpg)
वीर अस्पतालमा लागेको बिरामीको लाइन
-1786082653.jpg)
-1786082653.jpg)
-1786082653.jpg)
-1786082652.jpg)
-1786082652.jpg)