बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले औषत प्रदर्शन गरेका छन्।
बंगलादेशमा सन्दीपले सिलेट सिक्सर्सका लागि ६ खेल खेलिसकेका छन्। तर, उनले ३ खेलमा मात्र विकेट लिन सके।
टोलीबाट अहिलेसम्म ६ खेल खेलेका सन्दीपले ४ विकेट लिएका छन्। सिलेटले खेलेका ७ मध्ये एक खेलमा सन्दीपले खेलेका थिएनन्। सिलेटले खेलेको ७ मध्ये दुई खेल मात्र जितेको छ।
नेपाल र युएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि नेपाल आउनुअघि लिगको आफ्नो अन्तिम खेलमा सन्दीपले किफायती बलिङ गरे पनि सिलेट सिक्सर्सका लागि विकेट लिन सकेनन्।
यो सँगै लामिछाने बीपीएलमा तेस्रो पटक विकेटविहिन बनेका हुन्।
शनिबार रंगपुर राइडर्स विरूद्धको सिलेटले पहिले ब्याटिङ गर्दै उच्च स्कोर बनाए पनि त्यो जोगाउन सकेन। टोलीले सिजनको पाँचौ हार ब्यहोरे पनि सन्दीपले किफायती बलिङ गरे। तर, विकेट लिन भने सकेनन्।
सिलेटका बलरमध्ये उत्कृष्ट इकोनोमी रहेका सन्दीपले ४ ओभरमा २१ रन खर्चिए। यस क्रममा उनका महत्वपूर्ण ३ क्याच ड्रप भएका थिए।
सन्दीपले कोमिला भिक्टोरिएन्सविरूद्ध २ विकेट लिँदै बीपीएलमा शानदार डेब्यू गरेका थिए। उनले भिक्टोरिएन्स विरुद्ध ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए।
दोस्रो खेलमा चितागोङ भाइकिङ्सविरुद्ध कसिलो बलिङ गर्दै २१ रन खर्चेका सन्दीपले विकेट भने लिन सकेनन्। तेस्रो खेलमा ढाका डाइनामाइट्स विरुद्ध ३३ रन खर्चिएर महंगा भएका सन्दिपले विकेट लिन भने सकेनन्।
सिक्सर्सको चौथो खेलमा ड्रप भएका सन्दीप रंगपुर राइडर्स विरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदै पाँचौ खेलमा पुनः कमब्याक गर्दै आफ्नो चौथो खेल खेले।
त्यसपछि ढाका डाइनामाइट्सविरूद्ध शुक्रबार भएको खेलमा ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका सन्दीपले शनिबार राइडर्स विरुद्ध किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्।
सन्दीपले सिलेटको बाँकी लिग खेल गुमाउने
लिगमा सिलेटले खेल्ने बाँकी खेलहरू सन्दीपले गुमाउने भएका छन्। टोलीले अब लिग राउण्डका ५ खेल खेल्न बाँकी छ। तर, नेपालले युएईविरुद्ध अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएकाले सन्दीप बीपीएलको खेल छाडेर नेपाल आउने भएका छन्। उनी नेपाल आएर युएईविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिममा समावेश हुनेछन्।
आगामी १३ गतेदेखि शुरू हुने प्रतियोगिताका लागि नेपाली टिम आउँदो मंगलबार युएई प्रस्थान गर्दैछ। त्यसका लागि उनी काठमाडौं आएर टोलीमा सामेल हुनेछन्।
यदि सिलेट सिक्सर्स बीपीएल क्रिकेटको दोस्रो राउण्डमा प्रवेश गरे युएईबाट सन्दीप बंगलादेश जाने छन्। दोस्रो चरणमा नपुगे अष्ट्रेलियाको बिग ब्यास खेल्न त्यता पुग्नेछन्।
बीपीएलभन्दा अगाडि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया गएका सन्दीपले उत्कृष्ट खेल खेलेका थिए।
उनले त्यहाँ मेलवर्न स्टार्सका लागि सुरूवाती ४ खेल खेल्दै शानदार प्रदर्शन गरे।
बीबीएलमा उत्कृष्ट डेब्यू गरेका सन्दीपले ४ खेलमा ८ विकेट लिँदै शनसनी मच्चाएका थिए।
बीपीएल भन्दा बीबीएल लामो समय चल्ने भएकाले सिलेट प्लेअफ नपुगेमा सन्दीप अष्ट्रेलिया जाने सम्भावना छ। यदि बीबीएलमा सन्दीपको टिम स्टार्स प्लेअफसम्म पुगेमा सन्दीप अष्ट्रेलिया जानेछन्।
बीपीएलमा सिलेट सिक्सर्स प्लेअफ नपुगेमा सन्दीपले अष्ट्रेलिया गएर स्टार्सको लिग राउण्डका अन्तिम दुई खेल खेल्न भ्याउनेछन्।
स्टार्सले फेब्रुअरी ८ मा ब्रिसबन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्सँग खेल्नेछ। उनको टोली मेलबर्न स्टार्स लिगमा ९ खेल खेल्दै ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।