भारतीय कप्तान बिराट कोहलीले विश्व क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्।
एकै वर्ष आईसीसी वर्ष खेलाडी, आईसीसी वर्ष उत्कृष्ट टेस्ट खेलाडी र आईसीसी वर्ष उत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका कोहली एकै वर्ष तीन वटा ठूलो अवार्ड हात पार्ने पहिलो खेलाडी हुन्।
यो सँगै कोहली आईसीसीको ‘टेस्ट टिम अफ द एअर’ र ‘ओडीआई टिम अफ द एअर’को कप्तानसमेत भएका छन्।
सन् २०१८ मा उत्कृष्ट लयमा रहेका कोहलीले ५५.०८ को औषतमा १३ टेस्टमा खेल्दै ५ सतकसहित १३२२ रन बनाएका थिए।
यस्तै वर्ष २०१८ मा खेलेका १४ एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीले १३३.५५ को औषतमा ६ सतकसहित १२०२ रन बनाए। यस्तै १० वटा टी-२० अन्तर्राष्ट्रियमा २११ रन बनाए।
मलेसियामा सन् २००८ मा सम्पन्न यु-१९ बिश्वकपको उपाधि जिताउने समय भारतीय टोलीको कप्तानी बनेका ३०वर्षीय कोहली वर्ष २०१८ मा संसारकै उत्कृष्ट टेस्ट र एकदिवसीय खेलाडी बनेका छन्। दुवै फर्म्याटमा कोहलीले सबैभन्दा धेरै रन बनाए।
वर्ष २०१८ मा एकदिवसीयमा ३ जनाले तथा टेस्टमा २ जनाले मात्र १,००० रनको आँकडा पुरा गरेका छन्।
आईसीसीले सर गारफिल्ड सोबर्सको नामबाट प्रदान गर्दै आएका टेस्ट क्रिकेटर अफ द इअरको अवार्डमा कोहलीले दक्षिण अफ्रिकाका कागीसो रबाडालाई पन्छाएका हुन्।
यता एक दिवसीयमा कोहलीले अफगानिस्तान लेग स्पिनर राशिद खानलाई पन्छाएका हुन्।
ऐतिहासिक उपलब्धि हासिल गरेपछि कोहलीले आफू यो सफलताबाट एकदमै खुसी भएको बताए।
‘यो मैले वर्ष भरि गरेको मेहनतको पुरस्कार हो। म मेरो टिम प्रति पनि धन्य छु जसले मसँगै राम्रो गरिरहेको छ। एउटा क्रिकेटरको रुपमा म गर्व गर्छु किनकि बिश्व स्तरमा धेरै क्रिकेटरहरु यो खेलखेली रहेका छन्,’ उनले भने।
कोहलीले गत वर्ष पनि आईसीसी एकदिवसीय वर्ष खेलाडीको अवार्ड जितेका थिए भने सन् २०१२ मा पनि यो उपलब्धि हाँसिल गरेका थिए।
कोहलीले अहिलेसम्म २१९ एकदिवसीयमा ३९ शतक र ४८ अर्धशतकसहित १०,३८५ कुल रन बनाएका छन् भने ७७ टेस्टबाट २५ शतक र २० अर्धशतक ६६१३ रन बनाएका छन्।
यस्तै टी-२० मा कोहलीले ६५ खेलमा १९ अर्धशतकसहित २१६७ रन बनाएका छन्।
आईसीसी वर्ष टेस्ट टिम ( ब्याटिंग अर्डर अनुसार )
टम लाथम ( न्युजिल्याण्ड ), डीमुथ करुनारत्ने ( श्रीलंका ) , केन विलीयमसन ( न्युजिल्याण्ड ) , बिराट कोहली ( कप्तान, भारत ) , हेनरी निकोलस ( न्युजिल्याण्ड ) , रिशभ पन्त ( भारत, विकेटकिपर ) , जेसन होल्डर ( वेस्ट इन्डिज ) , कागीसो रबाडा ( दक्षिण , अफ्रीका ) , नाथन लायन ( अस्ट्रेलिया ) , जस्प्रित बुम्राह ( भारत ) , मोहम्मद अब्बास ( पाकिस्तान )
आईसीसी वर्ष एकदिवसीय टिम ( ब्याटिंग अर्डर अनुसार)
- रोहित शर्मा ( भारत ) , जोनी बेयरस्टो ( इंग्ल्याण्ड ) , बिराट कोहली ( कप्तान, भारत ) ,जोय रुट ( इंग्ल्याण्ड ) , रोस टेलर ( न्युजिल्याण्ड ) , जोस बटलर( इंग्ल्याण्ड ), बेन स्टोक्स ( इंग्ल्याण्ड ), मुस्तफिजुर रेहमान ( बंगलादेश ) , राशिद खान ( अफगानिस्तान ) , कुलदिप यादब ( भारत ) , जस्प्रित बुम्राह ( भारत )