काठमाडौं गोल्डेनले धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपीएलल) मा विजयी सुरूवात गरेको छ।
धनगढीस्थित फाप्ला मैदानमा सोमबाट घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै काठमाडौंले विजयी सुरूवात गरेको हो।
धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो।
काठमाडौंको जितमा अंकित दाबासले सर्वाधिक २९ रन बनाए। गौरव तोमारले २८ रन बनाउँदा अनिलकुमार साहले २४ रन जोडे। अन्तिममा बिक्रम भुसालले १४ तथा मेहबुब आलमले १२ रन बनाएर अभिजित रहे।
धनगढीका लागि रोहन मुस्ताफाले सर्वाधिक ४ विकेट लिए पनि हारबाट जोगाउन सकेनन्। आमिर हायात र विपिन खत्रीले १-१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो।
धनगढीका लागि अमित श्रेष्ठले अर्धसतकीय पारी खेले। ५० बलमा ५० रन बनाएका अमित प्रतियोगिताकै पहिलो अर्धसतक प्रहार गर्ने खेलाडी बने।
सन्दीप राजालीले २८ रन जोड्दा सौरभ खनालले अभिजित २५ रन जोडे। पवन सरार्फ १९ रन जोडेर आउट भए।
गतिलो सुरूवात गर्न नसकेको धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा शून्य रनमै आउट भए। त्यसपछि अर्का ओपनर सुनील धमला तीन रनमा पेभेलियन फर्किए।