नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ। २८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो।
नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २-२ विकेट लिए। थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए।
सिंगापुरको विकेट पतन
पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए। चाबिराले ११ बल खेल्दै २ रन जोडेका थिए।
सातौं ओभरको पहिलो बलमा मल्लले अर्का सिंगापुरे खेलाडी अमन देशाईलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए। देशाईले २ बल खेल्दै १ रन जोडेर आउट भए।
१३ औं ओभरको चौथो बलमा मल्लले सिंगापुरका अर्का ओपनर साई भेन्यूगोपाललाई आउट गरे। उनी ४५ बल खेल्दै तीन चौकाको सहयोगमा १८ रन जोडेर कप्तान रोहित पौडेलको हातबाट समातिए।
१७ औं ओभरको चौथो बलमा प्रमेश सिंगावि रन आउट भए। कुशलकै बलमा सागर ढकालले प्रवेशलाई रन आउट गराए। उनले २९ बल खेल्दै ७ रन बनाए।
२२ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका रासिद खानले नेपाललाई पाँचौ सफलता दिलाए। उनले २२ औं ओभरको तेस्रो बलमा बिनित मेहतालाई पवन सरार्फको हातबाट क्याच गराए। मेहताले १५ बल खेल्दै २ रन जोडेका थिए।
२३ औं ओभरको अन्तिम बलमा पवन सरार्फले नेपाललाई छेठौं सफलता दिलाएका छन्। पवनले सिंगापुरका राउल शर्मालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए। शर्माले ७ बल खेल्दै कुनै पनि रन बनाउन सकेनन्। यो सँगै पवनले २ ओभर बलिङ गर्दै दुबैमा मेडन राखेर १ विकेट लिए।
२७ औं ओभरको अन्तिम बलमा पवनले व्यक्तिगत दोस्रो विकेट लिए। उनले सिंगापुरका चन्द्रमाओली श्रीदेवलाई सन्दिप जोराको हातबाट क्याच गराए। श्रीदेवले १० बल खेल्दै १ रन जोडे।
३० औं ओभरको अन्तिम २ बलमा सूर्य तामाङले लगातार दुई विकेट लिए। पाँचौ बलमा तामाङले सिंगापुरका ईशान सान्वीलाई भीम सार्कीको हातबाट क्याच आउट गराए। सान्वीले सिंगापुरका लागि सर्वाधिक २८ रन जोडे। ५४ बल खेलेका उनले ४ चौका र एक छक्का हिर्काएका थिए।
लगत्तै ३० औं ओभरको अन्तिम बलमा तामाङले अथर्भ गुनेलाई पवन सरार्फको हातबाट क्याच आउट गराए। गुने ७ बल खेल्दै शून्यमा आउट भए।
३१ ओभरको अन्तिम बलमा प्राणव शुदर्शनलाई आउट गराउँदै सिंगापुरको इनिङ्स सकाए। सुदर्शनले ६ बल खेलेर शून्य रन बनाए।
***
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो।
सुरुवात राम्रो नगरेको नेपालका लागि ओपनर रित गौतम १ रन बनाएर तथा तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाएर आउट भएका थिए।
त्यसपछि तेस्रो विकेटको लागि ओपनर पवन सर्राफले कप्तान रोहित पौडेलसँग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० कटाए।
१९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए। उनले ५३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए।
सर्राफको विकेट लगत्तै सन्दिप जोरा खाता नखोली आउट भए।
त्यसपछि भिम शार्कीले १९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए। त्यसपछि आएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर आउट भए।
त्यसपछि सातौं विकेटको लागि नवौं नम्बरमा आएका राशिद खानसँग रोहितले ७७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० कटाए। राशिद अर्धशतक बनाउन २ रनले चुके। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए।
त्यसपछि रोहितले आठौं विकेटका लागि कमल सिंह ऐरीसँग ३७ रनको साझेदारी गरे।
शतकको नजिक पुगेका रोहित ४६ औं ओभरमा आउट भए। ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १०५ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे।
रोहितको विकेटपछि ३१ रन बनाएर ऐरि पनि आउट भए। उनले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। त्यसपछि ४६ औं ओभरको पाँचौ र छैठौ बलमा लगातार विकेट गुमाउँदै ४६ ओभरमा २८२ रनमा अलआउट भयो।
सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए। यस्तै राउल शर्मा र भिनित मेहताले समान २/२ विकेट लिए।