मलेसियामा जारी आईसिसि यु १९ विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई २४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनायो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकीय इनिङ्स खेले।
क्वालालाम्पुरमा एक समय ११५-५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिले छैठौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।
५४ बल खेलेका भीमले ४ चौका र २ छक्कासहित ५३ रनमा क्याच आउट भए।
७५ बल खेलेका हरिले ७ चौकाको मदतले नटआउट ६७ रन जोड्दै नेपालको इनिङ्स सम्मानजनक स्थितिमा पुर्याए।
नेपालका लागि रित गौतमले ४४ रन बनाउँदा आसिफ शेखले २७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे। सन्दीप जोरा ७ रनमा आउट हुँदा हिजो उत्कृष्ट प्रदर्शन गरेका राशिद खान र कुशल मल्ल समान १-१ रनमै आउट भए।
कमल ऐरी र सागर ढकाल समान २-२ रन जोडेर पवेलियन फर्किए।
यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।
प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन्। शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो। उता यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ।