आठौं राष्ट्रिय पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारबाट भैरहवामा सुरू भएको छ।
पहिलो खेलमा विभागीय टिमहरू नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल विजयी भएका छन्।
पुलिसले प्रदेश नं. ५ लाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्यो भने सशस्त्रले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ७१ रन बनायो। उसका लागि कुशल भूर्तेलले ६ चौका, एक छक्का मद्दतमा ३१ बलमा ५५ रन बनाए।
यस्तै, दीपेन्द्रसिंह ऐरीले ३८ र कप्तान मञ्जित श्रेष्ठले नटआउट २२ रन बनाए। बलिङमा प्रदेश पाँचका कृष्ण कार्की, विक्रम भुसाल र शौरभ खनालले समान २–२ विकेट लिए।
एक सय ७२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको प्रदेश पाँचले ६ विकेट क्षतिमा १ सय ८ रन मात्रै बनाउन सक्यो। उसका लागि अनुपम सिंहले ३७ र कृष्ण कार्कीले नटआउट १७ रन बनाए । बलिङमा पुलिसका ललित राजवंशीले २, दीपेन्द्र सिंह ऐरी, मञ्जित श्रेष्ठ, कुशल भूर्तेल र आरिफ सेखले समान १–१ विकेट लिए। पुलिसका कुशल भूर्तेल म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा जितका लागि सुदूरपश्चिमबाट पाएको ८२ रनको लक्ष्य सशस्त्रले १९ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा शरद भेषवाकरले सर्वाधिक १८, भुवन र्काीले १६ र सुमित महर्जनले नटआउट १५ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्ले २–२ तथा महेश अधिकारी, विकाश ऐरी र अजय ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ८१ रन बनाएको थियो । उसका लागि दीपक बोहराले १७, लोकेश बमले १५ र खडक बोहराले १२ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा सशस्त्रका शरद भेषवाकरले ५, भुवन कार्कीले २, बसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए । शरद म्यान अफ द म्याच भए । बिहीबार प्रदेश पाँच र सशस्त्र तथा प्रदेश सात र प्रदेश ४ बीच प्रतिस्पर्धा हुने छ ।
सरकारले खेलक्षेत्रका लागि काम गर्न सकेनः भुसाल
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले खेलकुदको क्षेत्रमा मुलुकले राम्रो काम गर्न नसकेको बताएका छन्। उनले खेलकुद क्षेत्रको विकासको लागि खेलाडीहरूले आफै गरेको बताए ।
भुसालले खेलाडीहरुले आवश्यक प्रोत्साहन र तालिम नपाएको र खेलका प्रशिक्षकहरूलाई पनि राज्यले प्रोत्साहित गर्न नसकेको बताए।
‘सत्ताधारी दलको प्रतिनिधि र नेताको हिसाबले म के भन्न चाहन्छु कि विगतमा जे भयो, खेलकुद क्षेत्रको विकासमा ढिलाइ भयो, कम ध्यान गयो, कम लगानी भयो तर आगामी दिनमा यस्तो स्थिति रहनेछैन’, उनले भने ।
सरकारले खेल क्षेत्रमा प्रयाप्त लगानी लगाउने र खेल क्षेत्रलाई धेरैमाथि उठाउन प्रयत्न गर्ने उनको भनाइ थियो। उनले सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरू भइसकेको र डिपीआर समेत तयार भइसकेको बताए।
‘रंगशालामा आगामी वर्ष ३ करोड लगानी गर्दैछौं, तर त्यसले पुग्दैन, राम्रो खेलकुद मैदानको लागि करिब ४२/४३ करोड चाहिन्छ’, नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले भने, ‘राष्ट्रले गौरव गर्ने गरी उपलब्धि गरौं भन्ने हाम्रो उद्देश्य छ ।’
सरकारले उच्चस्तरका खेलकुद प्रतियोगिताहरू सिद्धार्थ रंगशालामा खेल्ने परिस्थिति निर्माण गर्ने भन्दै उनले त्यसका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्ने बताए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वरभूमिको रूपमा पहिचान बनाउन सफल भएको रुपन्देहीले इतिहास कायम गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।