सुर्खेतमा हुन लागेको कर्णाली प्रिमियर लिग–२ को पुरस्कार राशी ५ लाख घोषणा गरिएको छ।
वैशाख १२ गतेदेखि २१ गतेसम्म हुन लागेको प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख रुपैयाँ, द्वितीय पुरस्कार २ लाख रुपैयाँ रहेको (केपिएल–२) का संयोजक रेशम शाहीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरिएको छ।
प्रतियोगिताका वेष्ट बलरलाई २० हजार रुपैयाँ, व्याट्सम्यानलाई २० हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याच बन्ने एक जनालाई ३ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त खेलाडीहरू समावेश ८ टिमले प्रतिस्पर्धा गर्ने छन्। टिम क्याप्टे वसन्त रेग्मी रहेको एपिएफ क्लब, विनोद भण्डारीको नेतृत्वमा त्रिभुवन आर्मी क्लब, मञ्जित श्रेष्ठको नेतृत्वमा नेपाल पुलिस क्लब, मेहबु आलमको नेतृत्वमा झापाको लालीगुराँस क्रिकेट क्लब, सुशील खड्काको नेतृत्वमा महेन्द्रनगरको महेन्द्रनगर क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
यस्तै, अजय साहनीको नेतृत्वमा बाँकेको मध्यपश्चिम क्रिकेट क्लब, सुरेन्द्र चन्दको नेतृत्वमा काठमाडौंबाट हिमालयन क्रिकेट एकेडेमी र रवीन्द्रजंग शाहीको नेतृत्वमा कर्णाली–११ ले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
लिग–कम नकआउट फम्र्याटमा सञ्चालन हुने प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को नियम अनुसार खेलाइने संयोजक शाहीले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकले नै गर्ने छ।
१० दिनसम्म सञ्चालन हुने प्रतियोगिताको खर्च झण्डै ६० लाख लाग्ने आयोजकको अनुमान छ। प्रतियोगितामा सहभागी हुने क्लबहरूले प्रत्येक टिमले २ जनासम्म विदेशी खेलाडी सहभागी गराउन सक्ने छन् ।
प्रतियोगितामा सहभागी ८ टिमलाई २ वटा समूहमा विभाजन गरिने छ। प्रत्येकले एक–अर्कासँग १–१ खेल खेलेपछि समूहको उत्कृष्ट दुई टिमले सेमी फाइनलमा खेल्न पाउने छन् ।