जारी इण्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बईले बिहिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ।
हिजो राती भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १६८ रन बनाएको थियो।
जवाफी ब्याटिङ्मा आएको दिल्ली निर्धारित ओभरमा ९ विकेटमा १२८ रनमा रोकिएपछि मुम्बईले जित हासिल गरेको हो। जारी लिगमा मुम्बईको यो छैटौं जित हो। जितसँगै १२ अंक बटुलेर मुम्बई अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ। ९ म्याचमा चौथो हार बेहोरेको दिल्ली भने १० अंक सहित लिगको तेश्रो स्थानमा रहेको छ।
१६९ रनको लक्ष्य पछ्याउन आएको दिल्लीलाई हिजोको खेलमा शिखर धवन र पृथ्वी शाँले राम्रो सुरूवात दिलाएका थिए। उनीहरूले पावर प्लेमा ४८ रन जोड्दै राम्रो सुरूवात दिलाएका थिए। धवन ३५ रनको नीजि स्कोरमा राहुल चाहरबाट आउट भए।
पृथ्वीलाई पनि चाहरले आफ्नो दोश्रो शिकार बनाए। शाँले २४ बलमा २० रनमात्र बनाउन सके। शाँ आउट भएसँगै मुम्बईका बलरहरूले दिल्लीका ब्याटस्म्यानहरूलाई खुलेर खेल्न दिएनन्। कोलिन मनरो र कप्तान श्रेयस अय्यर ३-३ रनमा आउट भए। यस अवस्थामा दिल्ली ४ विकेटको नोक्सानीमा ६३ रनमा थियो। ऋषभ पन्त पनि मात्र ७ रनमा बाहिरिए। उनलाई जसप्रीत बुमराहले बोल्ड गरे।
अलराउण्डर अक्षर पटेलले एकसमय खेलमा टिक्दै दिल्लीको जितलाई जिवित राखिराखे भएपनि अन्य विकेटहरू भने लगातार पतन हुँदै गए। लसिथ मालिगांले क्रिस मोरिसलाई ११ रनमा पेभेलियन फर्काइदिए भने किमो पल बुमराहबाट आउट भए। पल खाता नखोली बाहिरिए।
रनरेटको दबाबकाबीच पटेल पनि २६ रन जोडेर बुमराहबाट आउट भए। अमित मिश्रा ६ र इशांत शर्मा शून्यमा नटआउट रहे र टोली १२८ मा समेटिदैं हार्यो।
पहिलो ब्याटिङ गरेको मुम्बईका लागि क्रुणाल पांड्या र हार्दिक पाड्या पाँचौ विकेटका लागि ५४ रनको साझेदारी गर्दै मुम्बईलाई सम्मानजनक रनस्कोरमा पुर्याएका थिए।
मुम्बईको पारिको सुरूवात रोहित शर्मा र क्वीटंन डि ककले गरेका थिए तर पावर प्लेको लाभ उनीहरूले उठाउन सकेनन्। उनीहरूले ६ ओभरमा ५७ रन जोडे। त्यसपछि अमित मिश्राले रोहितलाई बोल्ड गरे। रोहितले २० बलमा ३० रन जोडेका थिए।
त्यसपछि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बेन कटिंग २ रनमा पेभेलियन फर्किए। उनको विकेट अक्षर पटेलले लिएका हुन्।
डी कक ३५ रन बनाएपछि आउट भए। ततःपश्चात यादव र क्रुणालले चौथो विकेटका लागि ३० रनको साझेदारी गरे। यादबलाई रबाडाले २६ रन बनाएपछि आउट गरिदिए।
त्यसपछि ब्याटिङ गर्न आएका हार्दिकले १५ बलमा ३२ रन बनाए। उनी पनि रबाडाको बलमा पेभेलियन फर्किए।
क्रुणालले २६ बलमा नटआउट ३७ रनको योगदान दिए। मुम्बईले अन्तिम ३ ओभरमा ५० रन जोड्यो। दिल्लीका लागि रबाडाले २ विकेट लिए भने मिश्रा र पटेलले समान १-१ विकेट लिए।
हिजोको खेलमा नेपालका स्पिनर संदिप लामिछाने अन्तिम ११ मा परेनन्।