सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग–२ को दोस्रो दिन दुई वटा खेल भएका छन्। शुक्रबार भएको पहिलो खेलमा शक्ति गौचनको कप्तानीमा रहेको न्यु होराइजन क्रिकेट एकेडेमी बुटवलले जित हात पारेको छ।
बिहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै होराइजनले जित हात पारेको हो। ७१ रनले होराईजनले महेन्द्रनगरलाई पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार पारेको थियो। १६७ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले १९.१ ओभरमा ९५ रनमा सबै विकेट गुमायो।
प्लेयर अफ द म्याच समेत चुनिएका सुनिल धमलाले होराइजनको जितमा ६० रन बनाए। नेपाली राष्ट्रिय टिमको लागि खेलीसकेका सुनीलले ओपनिङ ब्याटिंग गर्दै ४० बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्जुन रायमाझीले ४० तथा सुरज दराईले अविजित २१ रन बनाए।
बलिङतर्फ होराइजनका कप्तानसमेत रहेका पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सर्वाधिक ३ विकेट लिए। गौचनले ४ ओभरमा २३ रन खर्चिए भने विकाश श्रेष्ठ र सुनिल धमलाले २/२ विकेट लिए ।
यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा लालिगुराँस क्रिकेट क्लव झापालाई हराउँदै त्रिभुवन आर्मी क्लव विजयी भएको छ। विभागीय टिम त्रिभुवन आर्मी क्लबले लालीगुराँसलाई ५८ रनले पराजित गरेको हो।
टस जितेर ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो लालीगुराँसले। १७७ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाउन सकेको थियो।
आर्मीका बलर जितेन्द्र मुखिया, हरि चौहान र भिम सार्कीले २/२ विकेट लिए। लालीगुराँसको ब्याटिङमा विवेक राजपुतले सर्वाधिक २७ रन बनाएका थिए। पहिले ब्याटिङ गर्ने क्रममा आर्मीको लागि राजु रिजालले ४९ तथा कुशल मल्लले ४२ रन बनाए । राजुले ३३ बलमा ३ चौका र १ छक्का तथा कुशलले २१ बलमा ३ छक्का र २ चौका प्रहार गरे।
लालीगुराँसको लागि बलिङमा प्रनभ शाह, यश कनडिया र तिलक मगरले समान २/२ विकेट लिएका थिए । बलिङमा १ विकेट र ब्याटिङमा ४२ रन बनाए कुशल मल्ल खेलको प्लेयर अफ द म्याच चुनिएका छन् ।
प्रतियोगिताअन्तर्गत शनिवार २ खेल हुनेछन् । बिहान ८:३० बजेदेखि हुने पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब र कर्णाली–११ भिँड्नेछन् भने दिउँसो १ बजे हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) र हिमालयन क्रिकेट एकेडेमी भिँड्नेछन् ।