कर्णाली प्रिमियर लिग–२ अन्तर्गत शनिबार भएको पहिलो खेलमा घरेलु टोली कर्णाली–११ ले जित हात पारेको छ । मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै कर्णाली–११ ले जित हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको कर्णाली–११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो । लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले पूरै २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।
मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली–११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए । जितेन्द्र सिंह ठकुरी र ललित प्याकुरेलले १/१ विकेट लिएका थिए । मध्यपश्चिमको लागि शैलेन्द्र यादवले सर्वाधिक ३१, राजवीर सिंहले ३० तथा आकाश विष्टले २३ रन बनाएका थिए । पहिलो खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की बनेका छन् ।
प्रतियोगितामा कर्णाली–११ को यो दोस्रो जित हो । कर्णाली–११ ले पहिलो खेलमा पनि लालीगुराँस क्रिकेट क्लब झापालाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो जितसँगै कर्णाली–११ सेमिफाइनल प्रवेश गर्ने सम्भावना बढेको छ ।
यस्तै, शनिबारकै अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले विजयी भएको छ । प्रतिस्पर्धी हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्दै एपीएफले जीत हात पारेको हो ।
खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले १०८ रन मात्रै बनाउन सकेको थियो । हिमालयनलाई सस्तैमा समेट्न एपिएफको लागि शरद भेसवाकरले ४ विकेट तथा भुवन कार्की, पुरन विक र सन्दीप जोराले २/२ विकेट लिए । हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक २४ रन बनाए ।
एपिएफको ब्याटिङ अनिल साहले शतक र शरद भेसवाकरले अर्धशतकीय इनिङ खेलेका थिए । अनिलले १०२ रन बनाउन ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आइतबार २ खेल हुनेछन् । बिहानको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसोको खेलमा एपीएफ र न्यू होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन्।