दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने दोस्रो टोली भएको छ।
आइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले हराउँदै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको विराट कोहलीको नेतृत्वमा रहेको बैंलोर २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो।
बैंलोरका लागि ओपनर पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाउँदा कप्तान विराट कोहलीले २३, शिभम दुबेले २४, गुरकिरात सिंहले २७ रनको योगदान दिए। एबिडिभिलियर्सले १७ रन बनाउँदा मार्कस स्टोनिसले ३२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
दिल्लीका लागि अमित मिश्रा र कागिसो रबाडाले २-२ विकेट लिए।
यसअघि घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो।
दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे। धवनले ३७ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए भने कप्तान श्रेयस ऐरले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५२ रन जोडे।
ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
दिल्लीका पृथ्वी शा १८, ऋषभ पन्त ७, कोलिन इनग्राम ११ रनमा आउट भएका थिए।
तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफलसम्म पुर्याए। शेरफेनले १३ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । पटेलले ९ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा अविजित रहे।
बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे।
आजको खेलमा पराजित भएसँगै बेंगलोर २ खेल अगावै समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ।
सन्दीपको खराब प्रदर्शन
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा रोयल च्यालेन्जर्सविरुद्ध खराब प्रदर्शन गरेका छन्।
सुरुवाती २ ओभर खराब प्रर्दशन गरेका सन्दीपले तेस्रो ओभरमा पनि
१० रन खर्चिएपछि चौथो ओभर बलिङ गर्ने मौका पाएनन्। सन्दीपले सुरुवात २ ओभरमा २६ रन खर्चिदा पछिल्लो १ ओभरमा १० रन खर्चिए। बाँकी चौथो ओभर बलिङ गर्ने मौका पाएनन्।
सन्दीपले तीन ओभरमा ३ चौका र २ छक्कासहित ३६ रन खर्चिएका उनले मात्र एउटा बल डट फाले।