सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग–२ अन्तर्गत चौथो दिनका दुई खेलमा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएका छन्।
चौथो दिनको पहिलो खेलमा लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै मध्यपश्चिम क्रिकेट क्लबले जित हात पारेको हो। दोस्रो खेलमा न्यू होराइजन बुटवललाई ३८ रनले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ)ले जित हात पार्यो ।
खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पूरा गर्यो ।
मध्यपश्चिमको जितमा बलिङमा आकाश विष्ट र अजय साहनीले ३/३ विकेट लिए। यस्तै ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए। शैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा विशालले ४३ बलमा ५ चौका प्रहार गरे ।
लालीगुराँसको लागि ब्याटिङमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुष थापाले १८ रन बनाएका थिए । खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आकाश विष्ट घोषित भएका छन् ।
एपिएफले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । न्यु होराइजनका ब्याट्सम्यान सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाएका थिए । दराईले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । एपिएफको लागि बलिङमा यज्ञमान कुमालले सर्वाधिक ३ विकेट तथा भुवन कार्की र शरद भेसावकरले समान २/२ विकेट लिए ।
एपिएफले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो । उसको लागि शंकर रानाले सर्वाधिक ४८ रन तथा शरद भेसावकरले ४१ रन बनाए। शंकरले आक्रामक इनिङ खेल्ने क्रममा २८ बलमा ४ छक्का र १ चौका प्रहार गरे भने शरदले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २६ रन बनाए ।
न्यु होराइजनका बलर राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३/३ विकेट लिए । राहुलले ३ विकेट लिने क्रममा १९ औं ओभरमा ह्याट्रिक विकेट लिएका थिए । त्यस क्रममा उनले अमर सिंह रौटेला, सन्दिप जोरा र सुमित महर्जनलाई ओभरको चौथो, पाँचौ र छैठौं बलमा आउट गरेका थिए । कर्णाली प्रिमियर लिगको २ संस्करणमा यो पहिलो ह्याट्रिक हो ।
दोस्रो खेलको प्लेयर अफ द म्याच शरद भेषावकर चुनिएका छन् ।