कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ सम्भावना जिवितै राखेको छ।
शुक्रबार राति चण्ढीगढमा भएको खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै कोलकत्ता अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ। यो सँगै प्ले अफमा शीर्ष चारको दौड अझै रोमाञ्चक भएको छ।
पञ्जावले दिएको १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर सहजै पुरा गर्यो।
उसका लागि ओपनर शुभमन गिल र क्रिस लिनले उत्कृष्ट ब्याटिङ गरे। युवा खेलाडी गिलले अर्धसतकीय पारी खेल्ने क्रममा ४९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा अविजित रहे। अर्का ओपनर लिनले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ३ छक्का र ५ चौका सहित ४६ रन जोडे।
कोलकतालाई उत्कृष्ट जित दिलाउन आन्द्रे रसेल २४, रोविन उथप्पा २२ रनमा आउट हुँदा दिनेश कार्तिक २१ रनमा अविजित रहे। कार्तिकले मात्र ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
पन्जाबका लागि एन्ड्रयू टाई, मोहम्मद शामी र रविचन्द्र आश्विनले समान १-१ विकेट लिए पनि हार टार्न सकेनन्।
त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो।
पन्जाबका लागि साम करनले अर्धसतकीय पारी खेले। उनले मात्र २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे। यस्तै निकोल्स पुरनले २७ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४८ रन बनाउँदा मयंक अग्रवालले २६ बलमा २ चौका र १ छक्का सहित ३६ रन जोडे। ओपनर क्रिश गेलले १४ रन जोड्दा लोकेश राहुल २ रनमा आउट भए। मन्दीप सिंहले १७ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाएका थिए।
कोलकताका लागि सन्दीप वारियरले २,हेरी गुर्नी,आन्द्रे रसेल र नितेश रानाले समान १ विकेट लिए ।
यो जितसँगै कोलकता १३ खेलमा ६ मा जित र ७ मा हारका साथ पाँचौ स्थानमा उक्लिएको छ। समान खेलमा समान अंक जोडेको हैदरावाद रनरेटका आधारमा चौथो स्थानमा छ।
शीर्ष स्थानको चेन्नई सपुर किंग्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरिसकेका छन्।
रोयल च्यालेन्जर्स बैंलोरबाहेक अन्य कुनै पनि टिम आधिकारिक रूपमा प्रतियोगिताबाट बाहिरिएका छैनन्। पञ्जावको अझै पनि अंक गणितिय आधार बाँकी छ। अन्तिम खेलमा चेन्नई सुपर किङ्सलाई फराकिलो अन्तरमा हराएर अरू खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ।